ओलीलाई समवेदना दिँदै बालेनले भने- ‘पिताको अभावले जीवनमा गहिरो रित्तोपन ल्याउँछ’


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्न गएको पितृशोकप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक सन्देश लेख्दै उनले दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। केही समयअघि आफूले पनि पिता गुमाएको स्मरण गर्दै बालेनले ओलीको पीडाप्रति सहानुभूति प्रकट गरेका छन्।

बालेनले आफ्नो सन्देशमा संस्कृतको श्लोक उद्धृत गर्दै पितालाई रक्षक, गुरु र देवतासरह मानिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥”

त्यसपछि उनले आफ्नै अनुभव उल्लेख गर्दै पिताको अनुपस्थितिले जीवनमा गहिरो रित्तोपन र अपूरणीय अभाव सिर्जना गर्ने बताएका छन्।

बालेनले ओलीलाई परेको यो क्षतिमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै दिवंगत आत्माको शान्ति र वैकुण्ठवासको कामना समेत गरेका छन्। राजनीतिभन्दा माथि उठेर व्यक्त गरिएको यो सन्देशलाई मानवीय संवेदनाको अभिव्यक्तिका रूपमा हेरिएको छ।