काठमाडौं ।
देशभरका १ सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस ८४ स्थानमा दोस्रो भएको छ ।
निर्वाचन आयोगका अनुसार आयोगले सार्वजनिक गरेको मतगणना परिणामअनुसार कांग्रेसले सीमित सिट जिते पनि धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा दिएको देखिएको छ ।
आयोगका अनुसार नेकपा एमाले ४१ र नेपाली कम्युनिस्ट पार्टी १७ निर्वाचन क्षेत्रमा दोस्रो भएका छन् । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल समान ६–६ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा देखिएका छन् ।
श्रम संस्कृति पार्टी पुराना दलहरूलाई पछि पार्दै चार क्षेत्रमा उपविजेता बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टी एक–एक क्षेत्रमा दोस्रो भएका छन् । यस्तै कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार उपविजेता बनेका छन् ।
कोशी प्रदेशमा पर्ने १४ जिल्लाअन्तर्गतका २८ निर्वाचन क्षेत्रमध्ये चार सिटमा जित हासिल गरेको कांग्रेस १२ स्थानमा दोस्रो भएको छ । यस्तै, मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये एक स्थानमा जितेको कांग्रेस १३ सिटमा उपविजेता बनेको छ ।
आयोगका अनुसार तथ्यांकले कांग्रेसलाई गण्डकी प्रदेशका १२ निर्वाचन क्षेत्रमा र वागमती प्रदेशका २० निर्वाचन क्षेत्रमा दोस्रो देखाएको छ । त्यसै गरी लुम्बिनीका १२, कर्णालीका तीन र सुदूरपश्चिमका १० निर्वाचन क्षेत्रमा कांग्रेस उपविजेता भएको छ।











प्रतिक्रिया