काठमाडौं ।
काठमाडौं उपत्यकासहित देशभर पछिल्ला दिनहरूमा वायु प्रदूषण बढ्दै जाँदा धेरै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । धुलो, धूवाँ र साना कणयुक्त पदार्थ (पीएम २.५) को मात्रा बढ्दा यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै सचेत रहन चिकित्सकहरूले चेतावनी दिएका छन् ।
काठमाडौंको हावामा देखिने सूक्ष्म धुलोका कणहरू निकै साना हुने भएकाले ती सजिलै श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गर्न सक्छन् । यस्ता कणहरू फोक्सोसम्म पुगेर शरीरको विभिन्न अंगमा असर पार्न सक्छन् । वैज्ञानिक अध्ययनअनुसार वायु प्रदूषणले फोक्सो, मुटु र अन्य अंगहरूमा सुजन तथा क्षति पु¥याउने जोखिम बढाउँछ ।
विशेषगरी काठमाडौं उपत्यकामा सवारीसाधनको धूवाँ, निर्माण कार्यबाट उड्ने धुलो, फोहोर जलाउने कार्य र उद्योगबाट निस्कने धूवाँ वायु प्रदूषणका प्रमुख कारण मानिन्छन् । यिनै कारणहरूले गर्दा देशका अन्य भागमा प्रदूषण बढिरहेको छ ।
विश्व बैंकका अनुसार नेपालमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष करिब २६ हजार मानिसको समयअगावै मृत्यु हुने अनुमान गरिएको छ, जसले देशको औसत आयुमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।

वायु प्रदूषणको प्रभाव सबै उमेर समूहमा देखिए पनि बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम र मुटुरोगीहरू बढी जोखिममा हुन्छन् । चिकित्सकका अनुसार वायु प्रदूषणका कारण लगातार खोकी लाग्ने, घाँटी दुख्ने र श्वास फेर्न गाह्रो हुने, आँखा पोल्ने वा आँसु आउने, टाउको दुख्ने र थकान महसुस हुने, एलर्जी तथा छालामा जलन हुने, दम, ब्रोंकाइटिस र अन्य फोक्सोसम्बन्धी रोगको जोखिम हुन सक्छ । प्रदूषणको असर छाला, आँखाबाट शरीरमा प्रवेश गरी घातक क्यान्सरसमेत हुन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
डा. बुढाथोकीका अनुसार वायु प्रदूषणका कारण मिर्गाैला, मुटु, मष्तिष्कमा असर गर्नुका साथै लामो समय भयो भने क्यान्सरसमेत हुन सक्छ । चिकित्सकका अनुसार प्रदूषणको गम्भीर असरबाट बच्न बिहानको समय बाहिर ननिस्कने, शरीरका अंग छोपिने लुगा लगाउने, असर कम गर्न झोलिलो चिज बढी खाने, धूम्रपान, मध्यपान नगर्ने, सन्तुलित खाना खाने गर्नुुपर्छ । लामो समयसम्म प्रदूषित हावा सास फेर्दा मुटुरोग, स्ट्रोक, फोक्सोको दीर्घ रोग र क्यान्सरसम्मको जोखिम बढ्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
स्वास्थ्य विज्ञहरूले वायु प्रदूषण बढी भएका बेला केही सावधानी अपनाउन सुझाव दिएका छन् । उनीहरूले बाहिरको गतिविधि कम गर्ने, प्रदूषण धेरै भएको बेला अनावश्यक बाहिर ननिस्कने, मास्क प्रयोग गर्ने, बाहिर जाँदा एन–९५ वा राम्रो फिल्टर भएको मास्क प्रयोग गर्नु । घरभित्र सुरक्षित वातावरण बनाउने – ढोका–झ्याल बन्द राख्ने र सम्भव भए एयर प्युरिफायर प्रयोग गर्ने, धेरै पानी पिउने सुझाव दिएका हुन् ।
दम, मुटुरोग वा दीर्घ रोग भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि नियमित प्रयोग गर्नेुपर्ने सुझाव चिकित्सकको छ । स्वच्छ हावा मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक भएकाले प्रदूषण नियन्त्रणसँगै जनचेतना अभिवृद्धि गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको यस विषयमा स्वास्थ्य मन्त्रालयले सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहेको डा. बुढाथोकीले बताउनुभयो ।
के कस्तो असर पर्छ ?
–लगातार खोकी लाग्ने, घाँटी दुख्ने
–श्वास फेर्न गाह्रो हुने
–आँखा पोल्ने वा आँसु आउने
–टाउको दुख्ने र थकान महसुस हुने
–एलर्जी तथा छालामा जलन हुने
–दम, ब्रोंकाइटिस र अन्य फोक्सोसम्बन्धी रोगको जोखिम
–हृदयाघातको जोखिमसमेत बढ्ने
–घातक क्यान्सरसमेत हुन सक्ने
बढी जोखिममा को पर्न सक्छन् ?
–बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम र मुटुरोगीहरू
कसरी बच्ने ?
–बिहानको समय सकेसम्म बाहिर ननिस्कने
–विशेष गरी बिहान र साँझ प्रदूषण बढी हुने भएकाले बाहिरको गतिविधि कम गर्ने
–एयर प्युरिफायर प्रयोग गर्ने
–एन–९५ को मास्क प्रयोग गर्ने
–झ्याल बन्द राखी घरभित्र सुरक्षित वातावरण बनाउने
–धेरै पानी पिउने
–खुला सडकमा दौडने वा कडा व्यायाम नगर्ने
–लगातार खोकी लागी छाती दुखेमा तुरुन्त स्वास्थ्य जाँच गराउने











प्रतिक्रिया