क्रोएसियामा सडक दुर्घटना, दुई नेपालीको मृत्यु


काठमाडौं ।

क्रोएसियामा भएको सडक दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ।

ज्यान गुमाउनेमा झापा मेचीनगर–१२ नयाँ बस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिका–२ का २७ वर्षीय भुवन विक रहेका छन्।

रोजगारीका लागि बोस्निया गएका उनीहरू घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ।

उक्त दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।