देशका केही स्थानमा मेघगर्जनसहित वर्षा, काठमाडौंमा साँझसम्म पानी पर्ने सम्भावना


काठमाडौं ।

देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो।

विभागका अनुसार उदयपुर, चितवन, गोर्खालगायतका ठाउँमा थोरै समयका लागि मध्यमदेखि भारी वर्षा भएको छ भने गोर्खामा असिना समेत परेको छ।

मेघगर्जन तथा चट्याङ्गसहित पानी पार्ने बादल अझै आकाशमा रहेकाले थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। चट्याङ्ग र असिनाबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकाको आसपास क्षेत्रमा पानी परिरहेकाले उपत्यकामा पनि साँझसम्म वर्षा हुने सम्भावना छ।

उनले नेपाल प्रेससँग भने, “काठमाडौंमा पानी पार्ने बादल देखिइरहेकाले यहाँ पनि पानी पर्ने सम्भावना धेरै छ।”

उनका अनुसार नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रहेको र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको छ। साथै वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि पनि पर्याप्त रूपमा बढ्न नसकेको कारण प्रदूषण तल्लो वायुमण्डलमै सञ्चित भएको छ।

यसका कारण केही दिनदेखि देशका धेरै स्थानमा तुवाँलो देखिएको उनले बताए। वर्षा भएमा यो तुवाँलो क्रमशः हट्दै जाने पनि मौसमविद्को भनाइ छ।