उपभोक्ताले अब आधा सिलिन्डर मात्रै ग्यास पाउने


काठमाडौँ।

बजारमा देखिएको अभावलाई मध्यनजर गर्दै नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले ग्यासको आपूर्ति व्यवस्थापन गर्न यस्तो निर्णय गरेको हो।

निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेपछि बजार सन्तुलन कायम गर्न आधा सिलिन्डर वितरण गर्ने व्यवस्था लागू गरिएको हो।

उनका अनुसार यस निर्णयले सबै उपभोक्तासम्म ग्यासको पहुँच सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

पछिल्लो करिब दुई महिनादेखि नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव देखिँदै आएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्तिमा परेको असर नेपालमा समेत देखिएको बताइएको छ।

नेपाल आयल निगमले हाल इन्डियन आयल कर्पोरेशनबाट ग्यास आयात गरी देशभर बिक्री वितरण गर्दै आएको छ।