काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनपछि बन्ने नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताउनुभएको छ।
भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको अपेक्षा गरेको र अहिले त्यस्तो सरकार बन्ने सम्भावना देखिएको बताउनुभयो।
उहाँका अनुसार स्थिर सरकारले स्थायी नीति ल्याएमा आर्थिक गतिविधि बढ्नेछ। साथै, निजी क्षेत्रसँग सम्बन्धित विषयहरू राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा पनि समेटिएको स्मरण गराउँदै ती प्रतिबद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
अध्यक्ष ढकालले भूतप्रभावी कानून लागू नहुने सुनिश्चितता भएमा देशमा आर्थिक गतिविधि तीव्र रूपमा बढ्न सक्ने दाबी गर्नुभयो। यसले आन्तरिक रोजगारी सिर्जना हुनुका साथै राजश्व संकलन पनि वृद्धि हुने उहाँको भनाइ छ।
आर्थिक गतिविधि विस्तार भएमा छोटो समयमै आम नेपालीको अपेक्षा पूरा गर्न सकिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।











प्रतिक्रिया