मकवानपुरमा लागुऔषध प्रयोगकर्तासँग झडप : बञ्चरो प्रहारबाट प्रहरी घाइते

आत्मरक्षाका लागि गोली चल्दा युवक पनि घाइते


काठमाडौँ ।

मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन्। प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए।

उक्त आक्रमणबाट तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। प्रहरीका अनुसार आत्मरक्षाका लागि प्रहरीले एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन्।

घाइते प्रहरी सहायक निरीक्षक तामाङ र युवक सनिस दुवैको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ।