काठमाडौं ।
प्रतिनिधिसभाको समानुपातिक मतगणना सकिएसँगै निर्वाचन आयोग सिट बाँडफाँटको तयारीमा जुटेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार सकिएको हो । आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ८ लाख ३० हजार ८ सय १५ मत सदर भएको छ भने खसेको कुल मतको ४ प्रतिशत बदर भएको आयोगले जनाएको छ ।
यद्यपि, यो तथ्यांकमा केही थपघट हुनसक्ने सम्भावना रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बताउनुभयो । उहाँले आयोगका सूचना प्रविधिका कर्मचारीहरूले जिल्लाबाट आएका तथ्यांकहरूलाई रुजु गरिरहेको बताउँदै आज अन्तिम टुंगो लाग्ने जानकारी दिनुभयो । मतगणनाको अन्तिम परिणामको आधारमा १ सय १० समानुपातिक सिटको बाँडफाँट हुनेछ । समानुपातिकतर्फ दलहरूले पाएको मतको आधारमा उनीहरूका सांसद थपिनेछन् ।
प्रत्यक्षतर्फको १ सय ६५ सिटको मतगणना भने गत सोमबार सकिएको थियो । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाई बहुमत पाउँदा नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलको मत उल्लेख्य रूपमा घटेको छ । यसपटक छ वटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।
गणनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ८१ हजार ३ सय ३० मतसहित अग्रता बनाएको छ । दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९ सय ३, नेकपा (एमाले) ले १४ लाख ५५ हजार ६ सय ६९ मत पाएको छ । त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ११ हजार ३ सय ९३, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८ सय ५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६ सय ४९ मत पाएको छ ।
२०७९ को निर्वाचनमा ठूला बनेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल यो निर्वाचनमा खुम्चिएका छन् । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ ल्याएको नेकपा एमालेको यो पटकको मत झन्डै आधाले घटेको छ । त्यसै गरी नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २ सय २५ मत पाएको थियो ।
समानुपातिक निर्वाचन प्रणालीअनुसार सिट बाँडफाँट गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा विधि निर्धारण गरिएको छ । यसअनुसार सुरुमा सबै दलले प्राप्त गरेको मतलाई जोडेर कुल सदर मत निकालिन्छ । त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मत कुल सदर मतको कति प्रतिशत छ भनेर गणना गरिन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत ल्याउनेलाई समानुपातिक सिट बाँडफाँट नगर्ने गरी थ्रेसहोल्ड निर्धारण गरेको छ ।
यसअनुसार ती दललाई प्राप्त सदर मत सिट बाँडफाँट प्रक्रियामा समावेश हुँदैन ।
समानुपातिकतर्फको अन्तिम मत परिणामका आधारमा ६ वटा दलले ३ प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेका छन् । सातौं नम्बरमा रहेको जसपा र त्यसभन्दा थोरै मत प्राप्त गर्ने दलको त्योभन्दा कम प्रतिशत हुन आउँछ । त्यसैले ६ वटा दलले प्राप्त मतलाई मात्रै यो बाँडफाँटका लागि गणना गरिन्छ । जसअन्तर्गत रास्वपाका समानुपातिक सांसद ५७, नेपाली कांग्रेसका २०, एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४, राप्रपा ४, सांसद थपिने छन् ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्टले ८, श्रम संस्कृति ३, राप्रपा र स्वतन्त्र एक उम्मेदवार निर्वाचित भएका थिए । प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल सांसद २ सय ७५ मध्ये रास्वपाले १८२ सिट ल्याएको छ । सो पार्टीलाई दुई तिहाई पुग्न २ सिट अपुग हुने देखिन्छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीको १७, श्रम संस्कृति पार्टीका ७, राप्रपा ५ र स्वतन्त्र १ सांसद संसद्मा रहनेछन् ।
यो निर्वाचनमा जनमत, जसपा, लोसपा, नाउपा, नेमकिपा, जनमोर्चा राष्ट्रिय पार्टीको हैसियत बनाउन नसक्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उदाउन पुगेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । यसैबीच आयोगले दलहरूलाई आजै समानुपातिक उम्मेदवार सिफारिस गर्न पत्राचार गरेको छ ।
‘मतगणना सम्पन्न भइसकेको छ । मतगणना सम्पन्न भइसकेपछि आयोगले अहिले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन संकलन गर्ने काम गरिरहेको छ ।’ प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो – ‘सम्बन्धित दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या यकिन गर्दै उम्मेदवार सिफारिस गर्न दलहरूलाई पत्राचार गरिनेछ ।’ दलहरूबाट उम्मेदवार सिफारिस भएर आयोगमा आएपछि सम्बन्धित क्लस्टरअनुसार कानुनबमोजिम समावेशी भए, भएको रुजु गरेर समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको अन्तिम सूची तय गरिने आयोगले जनाएको छ ।
सम्भावित परिणाम
रास्वपा १८२
कांग्रेस ३८
एमाले २५
नेकपा १७
श्रम संस्कृति ७
राप्रपा ५
स्वतन्त्र १











प्रतिक्रिया