–प्रदेश अस्पतालको प्रारम्भिक रिपोर्टमा परिवारको असहमति
–चार जना किशोर प्रहरी नियन्त्रणमा
–सत्यतथ्य पत्ता लगाउन प्रहरीमाथि व्यापक जनदबाब
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी इनिसा विकको कर्णाली प्रदेश अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टप्रति परिवारले अविश्वास व्यक्त गरेपछि घटनाको थप वैज्ञानिक परीक्षणका लागि नेपालगञ्जबाट फरेन्सिक डाक्टर बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शाहीले प्रदेश अस्पतालको प्रारम्भिक रिपोर्ट परिवारले स्वीकार नगरेपछि निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपालगञ्जबाट फरेन्सिक विशेषज्ञ बोलाइएको जानकारी दिनुभयो ।
‘अब आउने विस्तृत फरेन्सिक रिपोर्टका आधारमा घटनाको वास्तविकता सार्वजनिक हुन्छ’ –उहाँले भन्नुभयो । बिहान घरबाट निस्किएपछि हराइरहेकी गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा वि.क फागुन २३ गते जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेको थियो । उहाँलाई उपचारका लागि तत्काल कर्णाली प्रदेश अस्पताल लगिएकोमा अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले इनिसालाई मृत घोषणा गरेको थियो ।
प्रहरीका अनुसार घटनास्थलबाटै १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । पक्राउ परेका किशोर र मृतक इनिसा सुर्खेतस्थित उषा बालबाटिकामा सँगै अध्ययन गर्ने साथी भएको खुलेको छ । घटनाबारे थप अनुसन्धानका लागि फागुन २४ गते १५, १६ र १७ वर्षका अन्य तीन किशोरलाई पनि नियन्त्रणमा लिएर सोधपुछ थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
यता, मृतकका आफन्तहरूले भने किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाएका छन् । वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालय कक्षा ११ मा अध्ययनरत इनिसा बिहान ८ बजेसम्म फर्किने भन्दै आमा तिलालाई जानकारी गराएर बिहानै घरबाट निस्किए पनि समयमा घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।
आमा तिला विकका अनुसार छोरीलाई फोन गर्दा मोबाइल स्विच अफ थियो । उहाँ पढ्ने विद्यालयमा पनि फोन गर्दा सम्पर्क हुन सकेको थिएन । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको थियो ।
घटनास्थल पुग्दा इनिसाको शरीर रक्ताम्मे अवस्थामा रहेको, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको आफन्तले बताएका छन् । मृतक इनिसाकी आमाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।
उहाँले सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायलाई ज्ञापनपत्र बुझाउँदै निर्दाेष छोरीको हत्यामा संलग्नहरूले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने माग गर्नुभयो । यस विषयमा विभिन्न मानवअधिकार सम्बद्ध संघसंस्थाहरूले समेत चासो व्यक्त गरेका छन् । उनीहरूले पनि सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
यता, छोरीको मृत्युु भएको खबरपछि घर आउन खोजेका इन्द्र विक दुवई विमानस्थलमा अलपत्र पर्नुभएको छ । मध्यपूर्वी देश इरान, इजरायल युद्धका कारण विमानस्थल बन्द भएपछि उहाँ रोकिनुभएको हो । पारिवारिक स्रोतका अनुसार इन्द्र दुई वर्षको दुबई बसाइपछि केही समय अघिमात्र छुट्टी सकाएर त्यहाँ पुग्नुभएको थियो ।
परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शवको अन्त्येष्टि नगर्ने अडान लिएका छन् ।
उनीहरूले वास्तविक दोषी पहिचान गरी कडा कानुनी कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । हत्यामा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए ।
‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिसालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित पीडित परिवार र आफन्तले खबरदारी र ¥याली निकाल्दै प्रदर्शन गरेका हुन् ।
प्रहरीले भने घटनालाई विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै फरेन्सिक परीक्षणको प्रतिवेदनपछि मात्र मृत्युको वास्तविक कारण र घटनाको स्वरूप स्पष्ट हुने जनाएको छ । यता प्रदेश सरकारका मुख्यमन्त्रीदेखि नवनिर्वाचित सांसद र नगरपालिका प्रमुखले समेत घटनाको निष्पक्ष छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।











प्रतिक्रिया