शुक्लाफाँटामा बाघ गणना सुरु

नेपालमा बाघ संरक्षणको सफलताप्रति विज्ञ उत्साहित


काठमाडौं।

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलवारदेखि पाटेबाघको गणना सुरु गरिएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत सुरु गरिएको यस अभियानले नेपालमा बाघ संरक्षणको अवस्था र आगामी रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालले पछिल्ला वर्षहरूमा बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेसँगै विश्व समुदायको ध्यान पनि यसतर्फ आकर्षित भएको छ ।

निकुञ्ज प्रशासनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै यस क्षेत्रको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा क्षेत्रमा स्वचालित क्यामेरा जडान गरी बाघ गणना सुरु गरिएको हो । मंगलवार बिहान आयोजित कार्यक्रममा निकुञ्ज कार्यालयले औपचारिक रूपमा बाघ गणनाको शुभारम्भ गरेको जनाएको छ ।
शुक्लाफाँटा–लालझाडी–जोगबुडा क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० वटा ग्रिडमा विभाजन गरेर गणना गरिने निकुञ्ज कार्यालयले जनाएको छ । बाघको गतिविधि, आवागमन र संख्या पत्ता लगाउन अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार बाघ गणनाका लागि ५८० वटा स्वचालित क्यामेरा जडान गरिएको छ भने ७७ जनाको प्राविधिक टोली परिचालन गरिएको छ ।

‘बाघको सही तथ्यांक संकलन गर्न आधुनिक प्रविधि प्रयोग गरिएको छ,’ चौधरीले भन्नुभयो– ‘क्यामेरा ट्रयाप विधिबाट बाघको तस्बिर संकलन गरी तिनको धर्काको ढाँचाका आधारमा व्यक्तिगत पहिचान गरिन्छ । यसले बाघको वास्तविक संख्या पत्ता लगाउन मद्दत गर्छ ।’ यसअघि गरिएको गणनाअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४३ वटा पाटेबाघ रहेका छन् । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ पाइने संरक्षित क्षेत्रका रूपमा चिनिन्छ । यहाँको घाँसे मैदान, जलस्रोत र पर्याप्त आहार प्रजातिका कारण बाघका लागि उपयुक्त बासस्थान बनेको विज्ञहरू बताउँछन् ।

वन तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा हाल बंगाल प्रजातिका बाघको संख्या उल्लेखनीय रूपमा बढेको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । सन् २०१० मा नेपालमा जम्मा १२१ बाघ मात्र रहेका थिए । त्यसपछि सरकारले बाघ संरक्षणलाई प्राथमिकता दिँदै संरक्षण कार्यक्रम, चोरी सिकारी नियन्त्रण, बासस्थान व्यवस्थापन तथा समुदायको सहभागिता बढाउँदै लगेको थियो । त्यसको परिणामस्वरूप पछिल्ला दशकमा बाघको संख्या तीन गुणाभन्दा बढीले वृद्धि भएको हो ।

वन्यजन्तु विज्ञहरूका अनुसार बाघको संख्या बढ्नु भनेको वन पारिस्थितिकी प्रणाली स्वस्थ हुँदै गएको संकेत हो । बाघलाई वन्य जीवनको ‘शीर्ष शिकारी’ मानिन्छ, जसले अन्य जनावरहरूको संख्या सन्तुलनमा राखेर सम्पूर्ण परिस्थितिलाई सन्तुलित बनाउँछ । बाघ विज्ञ तथा संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार नेपालले बाघ संरक्षणमा विश्वकै उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । ‘नेपालले बाघ संरक्षणमा अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा पाएको छ,’ उहाँले भन्नुभयो– ‘समुदायको सहभागिता, कडा सुरक्षा व्यवस्था र बासस्थान व्यवस्थापनका कारण बाघको संख्या उल्लेखनीय रूपमा बढेको हो ।’

उहाँका अनुसार बाघको संख्या बढ्नु सकारात्मक भए पनि यससँगै चुनौतीहरू पनि बढिरहेका छन् । ‘बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्ने सम्भावना हुन्छ,’ उहाँले भन्नुभयो– ‘त्यसैले संरक्षणसँगै स्थानीय समुदायको सुरक्षालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।’

यस्तै, वन्यजन्तु संरक्षण अभियन्ता डा. घनश्याम गुरुङले पनि नेपालले हासिल गरेको उपलब्धि दीर्घकालीन बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो । ‘नेपालले बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय लक्ष्य समयभन्दा अगावै पूरा गरेको देश हो,’ उहाँले भन्नुभयो– ‘तर संरक्षण निरन्तर प्रक्रिया हो । चोरी सिकारी नियन्त्रण, बासस्थान विस्तार र वन्यजन्तु मार्गको संरक्षण अझ सुदृढ बनाउनुपर्छ ।’

विशेषज्ञहरूका अनुसार बाघ संरक्षणमा नेपाल सफल हुनुको मुख्य कारण कडा सुरक्षा व्यवस्था र चोरी सिकारी नियन्त्रण हो । विगतमा बाघको संख्या घट्नुमा अवैध सिकार प्रमुख कारण मानिन्थ्यो । तर, पछिल्ला वर्षहरूमा नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानीय समुदायको सक्रियताले यस्तो गतिविधिमा उल्लेखनीय कमी आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अधिकारीहरूका अनुसार यहाँ बाघका लागि पर्याप्त आहार प्रजाति उपलब्ध हुनु अर्को महत्वपूर्ण कारण हो । हरिण, चित्तल, नीलगाई, बँदेललगायतका जनावरहरूको संख्या बढेकाले बाघलाई पर्याप्त आहार मिलिरहेको छ ।
निकुञ्ज प्रशासनले बाघ संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा पनि यसको महत्वपूर्ण योगदान रहेको बताएको छ । अहिले नेपालमा पाइने बंगाल प्रजातिका बाघ विदेशी पर्यटकहरूको मुख्य आकर्षण बनेका छन् । चितवन र बर्दिया राष्ट्रिय निकुञ्जसँगै शुक्लाफाँटा पनि बाघ अवलोकनका लागि लोकप्रिय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार वन्यजन्तु पर्यटनबाट स्थानीय अर्थतन्त्रलाई पनि ठूलो फाइदा पुगिरहेको छ । बाघ अवलोकनका लागि आउने विदेशी पर्यटकका कारण होटल, गाइड सेवा, यातायात तथा स्थानीय उत्पादनको माग बढेको छ ।

सरकारले सन् २०३० सम्म बाघ संरक्षणलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ । यसका लागि बासस्थान संरक्षण, वन्यजन्तु मार्गको संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा समुदायमा आधारित संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना बनाइएको छ ।
विशेषज्ञहरूका अनुसार बाघ संरक्षण केवल वन्यजन्तुको संरक्षण मात्र नभई सम्पूर्ण वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणसँग जोडिएको विषय हो । त्यसैले सरकार, संरक्षण संस्था र स्थानीय समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
शुक्लाफाँटामा सुरु भएको यसपटकको बाघ गणनाले आगामी दिनमा नेपालमा बाघको वास्तविक अवस्था बुझ्न र संरक्षण नीति अझ प्रभावकारी बनाउन महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ । नेपालले हासिल गरेको संरक्षण उपलब्धिलाई निरन्तरता दिन सकेमा बाघ संरक्षणको क्षेत्रमा नेपाल विश्वकै उदाहरणीय देशका रूपमा अझ स्थापित हुने विश्वास व्यक्त गरिएको छ ।