भारतबाट लगानी ल्याउन खोजे ‘भारतीय दलाल’, चीनबाट ल्याउन खोजे ‘चिनियाँ दलाल’ र अमेरिकाबाट लगानी भित्र्याउन खोजे ‘अमेरिकी दलाल’ भन्ने प्रवृति र यस्तो सोचले देशलाई अघि बढ्नबाट रोक्छ ।
काठमाडौं।
हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ– जनता अब चुप बस्दैनन् । नेपाली राजनीतिमा एउटा असाधारण मोड ल्याउनेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको अभूतपूर्व बहुमत केवल चुनावी परिणाममात्र होइन, यो दशकौँदेखि सत्ता कब्जा गरेर बसेको राजनीतिक संरचनालाई भत्काउने जनमतको ‘सुनामी’ हो । लामो समयदेखि उही अनुहार, उही प्रवृत्ति र उही शैलीको राजनीतिबाट आजित मतदाताले ‘ब्यालेट’ बाट स्पष्ट सन्देश दिएको छ, अब राजनीति पुरानो तरिकाले चल्न सक्दैन ।
यो परिणामले नेपाली समाजमा आशाको ठूलो तरंग पैदा गरेको छ । काठमाडौंका पूर्व मेयर बालेन साहको नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार गर्दैन र विकासका कार्यहरू अघि बढ्छ भन्ने आशा जनतामा व्याप्त छ । तर, आशामात्र पर्याप्त हुँदैन । इतिहासले पटकपटक देखाइसकेको छ, जनताले अवसर दिन्छन्, तर त्यो अवसरलाई परिणाममा बदल्न नसक्ने शक्तिलाई जनमतले धेरै समय पर्खँदैन ।
एक समय थियो, जब २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले अभूतपूर्व जनमत प्राप्त गरेको थियो । प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली मिलाएर करिब २२० सिट जित्दै ऊ देशकै सबैभन्दा ठूलो शक्ति बनेको थियो । तर, समयसँगै जनअपेक्षा पूरा गर्न नसक्दा त्यही शक्ति आज केही सिटका लागि संघर्ष गरिरहेको छ । पार्टीको नाम र चुनाव चिह्नसमेत त्यागेर नेपाली कम्युनिस्ट पार्टी बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘रुन्चे’ जीत रास्वपाका नेताहरूका लागि पाठ हुनेछ । प्रचण्डको गल्ती नयाँ पार्टीले दोह¥याउनु हुँदैन । संसद्मा उहाँको उपस्थितिले नयाँ नेतृत्वलाई सम्झाइरहनेछ — जनताको विश्वास स्थायी हुँदैन, त्यसलाई काममार्फत निरन्तर प्रमाणित गर्नुपर्छ ।
आज नेपाल आर्थिक र राजनीतिक दृष्टिले मात्रै होइन, भूराजनीतिक दृष्टिले पनि संवेदनशील मोडमा उभिएको छ । बालेन साह प्रधानमन्त्री हुँदै गर्दा मेयरको कार्यकालमा झैं छिमेकी तथा शक्ति राष्ट्रहरूलाई चिढ्याउने कार्य गर्न उहाँलाई रतिभर पनि छुट हुने छैन । नयाँ सरकारको पहिलो प्राथमिकता सन्तुलित र परिपक्व परराष्ट्र नीति हुनुपर्नेमा कुनै दुई मत छैन । सामाजिक सञ्जालमा लोकप्रिय हुनका लागि गरिने अपरिपक्व टिप्पणी वा उत्तेजक नाराहरूले ‘भ्युज’ र ‘लाइक’ त बढाउला तर त्यसले देशलाई फाइदा होइन, दीर्घकालीन घाटा गराउने कुरामा पनि हेक्का राख्नुपर्छ ।
परिवर्तन चाहने हरेक जनता अझ भनौं भ्रष्टाचारको विरोधमा र सुशासनको पक्षमा उभिएका युवा पुस्ताको मुख्य माग भनेकै भ्रष्टाचारमुक्त विकास र समृद्धि हो । विकासका आधारभूत तत्वहरू भूमि, श्रम र पुँजीमध्ये नेपालसँग भूमि छ, श्रम शक्ति पनि प्रशस्त छ । साथै प्राकृतिक स्रोतका दृष्टिले पनि देश निकै समृद्ध छ । उर्वर भूमि, विशाल जलस्रोत र ऊर्जावान श्रमशक्ति हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हुन् । तर, पुँजीको अभावले यी सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सकिएको छैन । यही कारणले विदेशी लगानी आकर्षित गर्नु आजको सबैभन्दा महत्वपूर्ण आवश्यकता बनेको छ । हामीले आफूसँग भएको क्षमतालाई पहिचान गरी विदेशी लगानी आकर्षित गर्नसक्यौं भने देशको कायापलट हुन समय लाग्ने छैन ।
नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको अनुमान छ, जसमा झण्डै ४० हजार मेगावाट आर्थिक रूपमा सम्भव मानिन्छ । यदि, आगामी केही वर्षभित्रै यस क्षेत्रमा तीव्र गतिमा काम गर्न सकियो भने जलविद्युत् नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ । जलविद्युत्ले मात्र पनि नेपालको पूरै वार्षिक बजेट धान्न सक्छ । भारत र बंगलादेशजस्ता विशाल बजारहरू स्वच्छ ऊर्जाको खोजीमा छन् र नेपालबाट विद्युत् खरिद गर्न इच्छुक पनि छन् । अर्थात हाम्रो उत्पादनका लागि बजार पहिले नै तयार छ ।
त्यस्तै, पर्यटनको क्षेत्र अर्काे ठूलो सम्भावना हो । विश्वका धेरै देशहरूले पर्यटनका लागि कृत्रिम आकर्षण निर्माण गर्छन्, तर नेपालसँग हिमाल, जैविक विविधता, संस्कृति र जीवन्त सभ्यताजस्ता प्राकृतिक सम्पदा छन् । पर्यटनलाई केवल सगरमाथा आरोहणमा सीमित नगरी संस्कृति, ग्रामीण अनुभव, साहसिक खेल र आध्यात्मिक यात्रासँग जोडेर विकास गर्न सकिन्छ । छिमेकी भारतसँग विभिन्न धार्मिक सर्किटहरू जोडेर आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।
आजको अर्काे गम्भीर चुनौती भनेको युवाको तीव्र विदेश पलायन हो । शिक्षा र रोजगारीका नाममा हजारौँ युवा विदेशतिर गइरहेका छन् । यदि, यही प्रवृत्ति जारी रह्यो भने केही वर्षभित्र देशमा काम गर्ने जनशक्ति नै अभाव हुन सक्छ । त्यसैले अब नेपालले ‘कामदार’ होइन, ‘विशेषज्ञ सेवा’ निर्यात गर्ने नीति लिनुपर्छ । सूचना प्रविधि क्षेत्रले यसको सम्भावना देखाइसकेको छ । सरकारी नीति र पर्याप्त पूर्वाधारको बिना पनि नेपाली युवा उद्यमीहरूले विश्व बजारमा आफ्नो क्षमता देखाइरहेका छन् । तुलनात्मक रूपमा नेपालसँग सस्तो र दक्ष जनशक्ति भएकोले सूचना प्रविधिलाई पनि राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राख्न सकिन्छ । दोस्रो विश्वयुद्धपछि जापानले इलेक्ट्रोनिक्स र अटोमोबाइल उद्योगमा केन्द्रित भएर छोटो समयमै आफ्नो अर्थतन्त्रलाई पुनर्जीवित ग¥यो । नेपालसँग त पहिले नै प्राकृतिक स्रोतहरू छन्, आवश्यक छ त केवल स्पष्ट रणनीति र दृढ राजनीतिक इच्छाशक्तिको । हामीले पनि जापानले झै आफ्नो सामर्थ र शक्तिको पहिचान गरी सीमित क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्दा बढी प्रभावकारी हुने देखिन्छ ।
सम्भावनाका कुरा गरिरहँदा विदेशी लगानीप्रति समाजमा रहेको संकुचित धारणा परिवर्तन गर्नु पनि उत्तिकै आवश्यक छ । नेपालमा कुनै सरकारले विदेशी लगानी ल्याउन प्रयास गरे भने तुरुन्तै उसलाई ‘विदेशी दलाल’ भन्ने आरोप लगाइने प्रवृत्ति देखिन्छ । भारतबाट लगानी ल्याउन खोजे ‘भारतीय दलाल’, चीनबाट ल्याउन खोजे ‘चिनियाँ दलाल’ र अमेरिकाबाट लगानी भित्र्याउन खोजे ‘अमेरिकी दलाल’ भन्ने प्रवृति र यस्तो सोचले देशलाई अघि बढ्नबाट रोक्छ । संसारका धेरै देशहरूले बाह्य लगानी, प्रविधि र साझेदारीबाट आफ्नो अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाएका छन् ।
नरेन्द्र मोदी प्रधानमन्त्री भइसकेपछि भारतले ‘मेक इन इन्डिया’ अभियान सुरु ग¥यो । उक्त अभियानले सन् २०१४ देखि २०२४ को बीचमा करिब ७०९ अर्ब डलर बराबरको विदेशी लगानी आकर्षित गर्न सफल भयो । चीनले प्रत्येक वर्ष झण्डै १५० देखि १८० अर्ब डलर विदेशी लगानी भित्र्याउने गरेको छ भने भियतनाम जस्तो सानो देशमा पनि वार्षिक २० देखि २५ अर्ब डलर लगानी भित्रिएको छ । नेपालमा भने वार्षिक करिब २०० देखि ३०० मिलियन डलरमात्र विदेशी लगानी भित्रिन्छ ।
यदि, नयाँ शक्तिले व्यक्तिगत अहंकार र आन्तरिक विवादभन्दा माथि उठेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सक्यो भने नेपाललाई समृद्ध हुनबाट कसैले रोक्न सक्ने छैन ।











प्रतिक्रिया