बुटवल।
यस पटकको प्रतिनिधि सभाको नतिजालाई हेर्दा राष्ट्रिय पार्टीका रुपमा देखिए पनि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी समान तीन–तीन प्रदेशमा शून्य उपस्थितिमा देखिएका छन् ।
९ सिट जितेको एमाले गण्डकी, बागमती र मधेश प्रदेशमा यस पटकको प्रतिनिधि सभामा भने शून्यमा चित्त बुझाउन बाध्य भएको छ । एमालेले कर्णालीमा १ कोशीमा ४ लुम्बिनीमा १ र सुदूर पश्चिममा ३ स्थानमा जित हासिल गरेको छ ।
त्यस्तै ८ सिट जितेको नेपाली कम्युनिस्ट पार्टीले कोशी , गण्डकी र सुदूर पश्चिम प्रदेशमा यस पटकको प्रतिनिधि सभामा शून्यमा चित्त बुझाउन बाध्य भएको छ । नेकपाले कर्णालीमा ४ बागमतीमा १ मधेशमा १ र लुम्बिनीमा २ स्थानमा जित हासिल गरेको छ । त्यस्तै राप्रपाले कर्णाली प्रदेशको जुम्लाबाट ज्ञानेन्द्र शाही बाहेक अन्य ६ वटै प्रदेशमा शून्यमा चित्त बुझाउन परेको छ । त्यसै गरी श्रमसंस्कृति पार्टीले पनि कोशी प्रदेशमा ३ सिट सुरक्षित गर्दा अन्य ६ प्रदेशमा भने शून्य मै रहन परेको छ ।
त्यस्तै स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरु मध्ये गण्डकी प्रदेशको म्याग्दीबाट महावीर पुन बाहेक अन्य प्रदेशमा स्वतन्त्रको शून्य मै रहेको छ । यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा दोस्रो ठुलो दलका रुपमा देखिएको कांग्रेसले भने सातै प्रदेशमा न्यूनतम सिट भएपनि उपस्थिति देखाएको छ । कांग्रेसले कर्णालीमा ५ कोशीमा ४ सुदूर पश्चिममा ३ लुम्बिनीमा २ गण्डकीमा २ बागमती र मधेशमा १ एक सिट गरी १८ सिटमा सीमित रहेको छ ।
यस पटकको निर्वाचनमा ऐतिहासिक सफलता पाएको रास्वपाले भने १२ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा १ सिटमा चित्त बुझाउन बाध्य भएको छ । रास्वपाले कोशीेमा १७, गण्डकीमा १५, बागमतीमा ३१, मधेशमा ३० लुम्बिनीमा २१ र सुदूर पश्चिममा १० गरी १२५ सिट सुरक्षित गरेको छ । यो चुनावको परिणामलाई विश्लेषण गर्दा कांग्रेस बागमती र मधेशमा निकै कमजोर देखियो भने रास्वपा कर्णाली प्रदेशमा कमजोर साबित भएको पुष्टि भएको छ ।कुल निर्वाचनमा भाग लिएका पार्टीहरुको संख्या ६७ रहेता पनि विजेताको हिसावले एक स्वतन्त्र बाहेक ६ पार्टीले मात्र यस पटकको प्रतिनिधि सभाको निर्वाचनवाट संसदमा प्रतिनिधित्व गर्ने भएका छन् ।











प्रतिक्रिया