लमजुङ।
प्रतिनिधिसभा सदस्य पदका लागि लमजुङमा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका १२ उम्मेदवारमध्ये ९ जनाको धरौटी जफत हुने भएको छ । कुल खसेको मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका कारण उनीहरुको धरौटी फिर्ता नहुने भएको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गत बिहीबार सम्पन्न निर्वाचनमा ७५ हजार चारसय ६० मत खसेको थियो । निर्वाचन कार्यविधिअनुसार उम्मेदवारले मनोनयन दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता पाउन कम्तीमा सात हजार पाँच सय ४६ मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । तर ९ जना उम्मेदवारले उक्त न्यूनतम मत प्राप्त गर्न सकेनन् ।
धरौटी जफत हुने उम्मेदवारमा एक स्वतन्त्र उम्मेदवारसहित विभिन्न आठ राजनीतिक दलका उम्मेदवार रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका हरिजंग तामाङले तिन हजार तिन सय ७१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका केविन्द्रजंग गुरुङले एक हजार मत पाए । त्यस्तै श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले पाँच सय ६५, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङले तिन सय ५१ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रवीन्द्र नखोलाले एक सय ४४, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १ सय ३० मत प्राप्त गरेका छन्। जनादेश पार्टी नेपालका मिलन बास्कोटाले ५३, नेशनल रिपब्लिक पार्टीका भरत गुरुङले ४१ तथा नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजुले १२ मत प्राप्त गरेका छन् ।
उक्त निर्वाचनमा भने तीन प्रमुख दलका उम्मेदवारले मात्रै आवश्यक मत प्राप्त गर्दै धरौटी फिर्ता पाउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी ३३ हजार आठ सय ९८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार आठ सय ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत पाएका छन् । निर्वाचन परिणामअनुसार विजयी उम्मेदवार केसीले प्रतिस्पर्धीभन्दा १७ हजारभन्दा बढी मतान्तरसहित जित हासिल गरेका छन् ।











प्रतिक्रिया