प्रतिनिधिसभा निर्वाचन: समानुपातिकमा पनि रास्वपाकाे वर्चस्व कायमै

2.73k
Shares

काठमाडौँ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेकाे छ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व कायमै रहेकाे हाे। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म कूल ८५ लाख ९३ हजार ४ सय ४० मत गणना भइसकेको छ । जसमा नयाँ उदाएको रास्वपाले पुराना र स्थापित दलहरूलाई निकै पछाडि छाेड्दै ऐतिहासिक वर्चस्व कायम गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कूल गणना गरिएको मतको करिब आधा हिस्सा अर्थात् ४८ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी सबै भन्दा ठूलो दल बन्ने निश्चित गरेको छ । घण्टी चुनाव चिन्हमा हालसम्म ४१ लाख ५१ हजार २५७ मत प्राप्त गरेको छ । जुन नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको निकै ठूलो जनमत हो ।

परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा एमालेको मत परिणाम भने यस पटक निकै खुम्चिएको पाइएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले जम्मा १६ दशमलव१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९ सय ६६ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको एमालेले १३ दशमलव ६६ प्रतिशतका साथ ११ लाख ७३ हजार ५ सय ६१ मत मात्रै जोड्न सफल भएको हाे ।

अन्य दलहरूको प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीले ७ दशमलव ९ प्रतिशत मतका साथ ६ लाख ९ हजार २०८ मत प्राप्त गरेको छ । नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ दशमलव ५० प्रतिशत अर्थात् ३ लाख १ हजार १ सय २९ मत प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता थ्रेसहोल्ड पार गर्ने देखिएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव २८ प्रतिशतका साथ २ लाख ८२ हजार ५५ मत प्राप्त गरी छैठाैं स्थानमा रहेको आयाेगले जनाएकाे हाे ।