सेतो जर्सी र रातो बल, नेपाली क्रिकेटको अधुरो यात्रा बंगलादेश र अफगानिस्तानले फड्को मार्दा नेपाल किन एसोसिएटमै ?

0
Shares


दक्षिण एसियाली क्रिकेटको क्षितिजमा एउटा यस्तो समय थियो, जब नेपाल, अफगानिस्तान र यूएईबीचको प्रतिस्पर्धालाई ‘एसोसिएट क्रिकेटको त्रिकोण’ मानिन्थ्यो । मैदानमा यी तीन टोली उत्रिँदा नतिजाको भविष्यवाणी गर्न कठिन हुन्थ्यो । यूएईले अफगानिस्तानलाई दबाबमा राख्ने, अफगानिस्तानले नेपाललाई कठिन चुनौती दिने र नेपालले यूएईलाई माथ दिने एउटा रोचक चक्र चलिरहेको थियो । तर, आज समयको चक्र यसरी घुम्यो कि युद्धबाट भर्खरै तंग्रिएको अफगानिस्तान विश्व क्रिकेटको एउटा बलियो शक्ति (पूर्ण सदस्य) बनेर अस्ट्रेलिया र भारत जस्ता हस्तीलाई चुनौती दिइरहेको छ । जबकि नेपाल अझै पनि त्यही एसोसिएट संरचनाको भुमरीमा संघर्षरत छ । दुई दशकअघि बंगलादेशले टेस्ट मान्यता पाउँदा नेपाल पनि दौडमै थियो, तर बंगलादेशले फड्को मारिसक्दा हामी भने अझै “राम्रो खेलेर हा¥यौं” भन्ने भाष्यमै अड्किएका छौं ।

यसको जरो पहिल्याउन इतिहासको पाना पल्टाउनु नै पर्ने हुन्छ । भारतीय उपमहाद्वीपमा क्रिकेटको जग १८ औँ शताब्दीमै बेलायतीहरूले बसाइसकेका थिए । भारतबाट पूर्वी पाकिस्तान हँुदै बंगलादेश स्वतन्त्र हुनुभन्दा धेरैअघि नै त्यहाँ व्यवस्थित क्लब संस्कृति र विद्यालय तहको क्रिकेट संरचनाले जरा गाडिसकेको थियो । यसको विपरीत, नेपालमा क्रिकेट निकै ढिलो अर्थात् सन् १९२० को दशकमा मात्र भित्रियो ।

त्यो पनि केवल राणा खानदानका सम्भ्रान्त वर्गको मनोरञ्जनका लागि । सन् १९५१ मा प्रजातन्त्र आएपछि मात्र यो खेल दरबारको पर्खाल नाघेर जनस्तरमा पुग्यो । श्रीलंका र बंगलादेशले जुन प्रशासनिक र प्राविधिक अनुभव शताब्दीयौँ लगाएर बटुले, नेपालले त्यसलाई केही दशकमा पछ्याउन खोज्नु आफैँमा एउटा ठूलो चुनौती थियो । जहाँ दक्षिण एसियाली छिमेकी देशहरूमा क्रिकेट एउटा ‘संस्कार’ बनिसकेको थियो, नेपालमा यो अझै पनि ‘रहर’ र ‘संघर्ष’ बीचको खेलमै सीमित रह्यो ।

अफगानिस्तानको सफलताको कथा त झन् लोभलाग्दो र प्रेरणादायी छ । युद्धले क्षतविक्षत भएको देशमा क्रिकेट फस्टाउनुको पछाडि दृढ राजनीतिक इच्छाशक्ति र अन्तर्राष्ट्रिय एक्सपोजर मुख्य कारण हुन । अफगानिस्तान क्रिकेट बोर्डले कठिन परिस्थितिमा पनि आफ्नो घरेलु संरचना र एकेडेमीहरूलाई मर्न दिएन । उनीहरूका खेलाडीहरू राशिद खान, मोहम्मद नबीले विश्वका ठूला लिगहरू खेलेर आफूलाई निखारे, जसले गर्दा उनीहरूमा ‘म्याच अवेयरनेस’ र दवाब झेल्ने क्षमता विकास भयो ।

नेपालमा प्रतिभाको खानी भए पनि खेलाडीहरूले पर्याप्त अन्तर्राष्ट्रिय एक्सपोजर पाउन सकेका छैनन् । सन्दीप लामिछाने बाहेक अन्य खेलाडीले विश्वका ठूला मञ्चमा नियमित अवसर नपाउनुले हाम्रो प्रगति अपेक्षा अनुरूप हुनसकेको छैन । जतिबेला हाम्रा खेलाडीहरू अन्तर्राष्ट्रिय घरेलु मैदानको अभावमा छटपटाइरहेका थिए, अफगानी खेलाडीहरूले भारत र शारजाहका विश्वस्तरीय मैदानलाई आफ्नो ‘होम ग्राउन्ड’ बनाएर टेस्ट राष्ट्रको यात्रा तय गरे ।

नेपालको क्रिकेट विकासमा सबैभन्दा ठूलो तगारो प्रशासनिक अस्थिरता र राजनीति बन्यो । नेपाल क्रिकेट संघ (क्यान) भित्रको लामो विवाद र आईसीसीको निलम्बनले नेपाली क्रिकेटको एउटा महत्वपूर्ण कालखण्ड बर्बाद गरिदियो । जब बंगलादेश र अफगानिस्तान एकेडेमी र स्टेडियम बनाउन केन्द्रित थिए, नेपालका क्रिकेट प्रशासकहरू आपसी लडाइँमा अल्झिरहेका थिए । निलम्बनको त्यो कालो समयले भौतिक पूर्वाधार मात्र रोकेन, खेलाडीहरूको मनोबल र आर्थिक भविष्यलाई पनि अन्योलमा पारिदियो । एउटा खेलाडीले खेलमा ध्यान केन्द्रित गर्नुको साटो आफ्नो भविष्यको चिन्ता गर्नुपर्ने अवस्थाले व्यावसायिकताको जग बलियो हुन सकेन । यो प्रशासनिक शून्यताले नेपालको स्वाभाविक प्रगतिमा ठूलो धक्का पु¥यायो ।

हाम्रो अर्को विडम्बना ‘यु–१९ प्याराडक्स’ हो । नेपाल युवास्तरमा विश्वकै उत्कृष्ट टोलीहरूलाई हराएर ‘जायन्ट किलर’ त बन्छ, तर ती खेलाडीहरू सिनियर टोलीमा पुग्दा हराउँछन् । किशोर उमेर पार गर्ने समय पुगेपछि नेपाली खेलाडीको अगाडि दुईवटा विकल्प हुन्छन, या त भविष्य दाउमा राखेर क्रिकेटमै संघर्ष गर्ने, या त सुरक्षित भविष्यका लागि विदेश पलायन वा अन्य विकल्प रोज्ने । श्रीलंका वा बंगलादेशमा युवा खेलाडीले राष्ट्रिय स्तरमा चिनिनेबित्तिकै आर्थिक सुरक्षा पाउँछन्, तर नेपालमा पारस खड्का जस्ता सीमित नामहरूले बनाएको उचाइ नभेटाउन्जेल क्रिकेटलाई ढुक्कसँग करियर मान्ने आधार अझै तयार भइसकेको छैन । यसले गर्दा हाम्रा कैयौँ क्षमतावान खेलाडीहरू खेलबाट पलायन हुन बाध्य भए ।

पूर्वाधारको अवस्था त झन् दयनीय छ । मूलपानी क्रिकेट स्टेडियम एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन अवस्थामै रह्यो । काठमाडौँको टियु मैदानबाहेक अन्तर्राष्ट्रिय स्तरको अर्को विकल्प नहुनुले हाम्रो तयारीको हविगत छर्लङ्ग पार्छ । २०२६ को टी–२० विश्वकपमा नेपालले इङ्गल्याण्ड जस्तो शक्तिशाली टोलीसँग ४ रनको झिनो अन्तरले हार्नुले हाम्रो क्षमता प्रमाणित त गर्छ, तर लगत्तै नवप्रवेशी टोली इटालीसँगको बिर्सनलायक हारले के देखाउँछ भने हामीसँग प्रतिभा त छ, तर त्यसलाई टिकाई राख्ने ‘मेन्टल कन्डिसनिङ’ र घरेलु संरचनाको अभाव छ । अफगानिस्तानले क्लोज गेमहरू जित्न सिकिसक्यो, तर नेपाल अझै पनि २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले हारे जस्तै ‘नजिक पुगेर हार्ने’ नियतिबाट मुक्त हुन सकेको छैन । खेलकुदमा जित्नै पर्छ भन्ने बलियो मानसिकता केवल निरन्तर प्रशिक्षण र अनुभवले मात्र प्राप्त हुन्छ ।

हाल नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता निजी क्षेत्रका प्रयासले खेलाडीलाई आर्थिक राहत त दिएका छन्, तर केवल टी–२० ले मात्र टेस्ट राष्ट्र बन्ने सपना पूरा हुँदैन । अफगानिस्तानको ‘अहमद शाह अब्दाली ४–डे’ टुर्नामेन्ट जस्तै ‘रातो बल’ र बहु–दिवसीय घरेलु संरचनामा लगानी नगरेसम्म हाम्रो प्राविधिक पक्ष कमजोर नै रहनेछ । नेपालसँग विश्वकै सबैभन्दा भावुक समर्थक छन, जो टोली हार्दा आँशु झार्छन् र जित्दा उत्सव मनाउँछन् । यो ‘फ्यान बेस’ हाम्रो ठूलो शक्ति हो, तर अब केवल फ्यानको जोशले मात्र पुग्दैन, संघले पनि धैर्यताको खेल मानिने टेस्टका लागि ५० ओभर र ४–दिने खेलहरूलाई अनिवार्य बनाउने गृहकार्य गर्न जरुरी छ ।

नेपालले केही वर्षमै टेस्ट मान्यता पाउने सम्भावना त छ, तर संरचनाबिना हतारमा मान्यता लिनु सन् २००० को दशकको बंगलादेशको जस्तै लगातार हारको सिलसिला निम्त्याउनु हुन सक्छ । त्यसैले अबको बाटो भनेको राजनीतिमुक्त क्यान, स्तरीय रंगशालाहरूको द्रुत गतिमा निर्माण समापन र खेलाडीका लागि सम्मानजनक पारिश्रमिकको ग्यारेन्टी नै हो । टेस्ट क्रिकेटका लागि केवल एउटा पिच होइन, विश्वस्तरीय ड्रेनेज सिस्टम र आधुनिक अभ्यास सुविधाहरू चाहिन्छ । यदि घरेलु मैदानमा रातो बलको अभ्यास भएन भने विदेशी भूमिमा टेस्ट खेल्नु आत्मघाती हुन सक्छ । साथै, खेलाडीको मानसिक मजबूतीका लागि ‘स्पोट्र्स साइकोलोजिस्ट’ र उच्च स्तरको ‘कन्डिसनिङ’ मा लगानी गर्न ढिला भइसकेको छ ।

नेपाल अहिले क्रिकेटको यस्तो मोडमा छ, जहाँबाट या त हामी अफगानिस्तान जस्तै एसोसिएटबाट विश्वकपको सेमिफाइनल पुग्ने गरी शिखरमा पुग्न सक्छौं, या त एउटा औसत एसोसिएट राष्ट्रमै सीमित हुन बाध्य हुनेछौं । हिमाल चढ्न साहस मात्र होइन, सही उपकरण र योजना पनि चाहिन्छ । प्रतिभा र समर्थकको साथ हामीसँग छ, अब खाँचो छ त केवल दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्वको । यदि नेपाल क्रिकेट संघ (क्यान) ले प्रणाली सुधार गर्ने र सरकारले पूर्वाधारमा साँच्चिकै चासो देखाउने हो भने नेपालले टेस्ट क्रिकेटको इतिहासमा नयाँ अध्याय लेख्ने कुरा असम्भव छैन । सेतो जर्सी र रातो बलमा नेपाली खेलाडीलाई विश्वका ठूला मैदानमा देख्ने सपना अब केवल कल्पनामा मात्र सीमित रहनु हुँदैन ।