काठमाडौँ
सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवनकुमार आचार्यले पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज औपचारिक रूपमा पदभार सम्हाल्नु भएको छ ।
सानिमा बैंकको सञ्चालक समितिको ०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बैंकमा २१ वर्षदेखि निरन्तर योगदान दिँदै आएका आचार्य यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहन्थ्यो ।
शैक्षिक पृष्ठभूमिका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि तथा भारतको एनआइआइटी, बेंग्लोरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गर्नुभएको छ । उहाँले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो ।
सानिमा बैंकमा लामो सेवाकालका क्रममा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्नुभइसकेको छ । उहाँको प्रमुख कार्यक्षेत्रमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन र परियोजना वित्त रहेका हुनुहुन्छ । उहाँ सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा अध्यक्षका रूपमा समेत कार्यरत रहेका हुनुहुन्थ्यो ।
बैंकिङ क्षेत्रबाहेक आचार्यसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ भने पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा समेत सेवा प्रदान गर्नुभएको छ ।











प्रतिक्रिया