काठमाडौँ
अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल वरालले भन्सार क्षेत्रमा सुशासन कायम गर्न पात्र, प्रणाली र पद्धतिको समग्र सुधार अनिवार्य रहेको बताएका छन् । नेपाल भन्सार एजेन्ट संघ काठमाडौंले ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजना गरेको “राजस्व सुरक्षा र व्यापार सहजीकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय, निजी क्षेत्र तथा भन्सार एजेन्टबीच साझेदारी” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सचिव वरालले सो धारणा राखेका राख्नुभएको हो ।
कार्यक्रममा उहाँको भन्सार प्रक्रियामा मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सही घोषणा गर्नुपर्नेमा जोड दिँदै भन्सार सुधारको जिम्मेवारी भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट सबैको साझा दायित्व भएको स्पष्ट पार्नुभयो । उहाँले पारदर्शिता र इमान्दारिताले मात्र राजस्व संरक्षण र सुशासन सम्भव हुने उल्लेख गर्नुभयो ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मण्डारीले भन्सार प्रशासनको पहिलो दायित्व व्यापार सहजीकरण भएको बताउँदै भन्सारमा देखिएका समस्या समाधान गरी नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी निकायका रूपमा विकास गर्न विभाग सक्रिय रूपमा लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ तथा नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामीछानेले व्यापार सहजीकरण तथा भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्टबीचको सहकार्यले देशको राजस्व संकलनमा उल्लेखनीय वृद्धि हुने बताए। उनीहरूले वैध व्यापारलाई सहज बनाउन राज्यले थप जिम्मेवारीका साथ नीतिगत तथा संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले कार्यालय सुधारका लागि भएका पहलको जानकारी दिँदै जनअपेक्षाअनुसारको भन्सार सेवा प्रवाह गर्न सबै सरोकारवाला पक्ष समान रूपमा जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।











प्रतिक्रिया