काठमाडौँ
माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा विद्यालयमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता÷सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
मिति २०८२ माघ ०६ गते लायन्स क्लब अफ काठमाडौँ नमस्तेसँगको सहकार्यमा नुवाकोटको तादी गाउँपालिका–५, अत्मारास्थित श्री हेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरिएको थियो । यस सहयोगले विद्यार्थीहरूको दैनिक आवश्यकताको पूर्ति हुनुका साथै पठन–पाठनमा सहजता ल्याउने विश्वास लिइएको छ ।
त्यसैगरी, मिति २०८२ माघ ०७ गते काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४, पासीकोटस्थित श्री श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट प्रदान गरिएको छ । कम्प्युटर सहयोगले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सीप र व्यवहारिक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यसका साथै दुवै विद्यालयमा विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूका लागि वित्तीय साक्षरता÷सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा बचत, लगानी, वित्तीय योजना र जिम्मेवार आर्थिक व्यवहारका विषयमा जानकारी प्रदान गरिएको क्यापिटलले जनाएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्ता कार्यक्रमहरूले विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेड एक पब्लिक लिमिटेड धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी हो । कम्पनीले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया