याङ्गोले काठमाडौंमा कार र कार्गो विकल्पसहित व्यक्ति र साना व्यवसायलाई लक्षित डेलिभरी सेवा सुरु


काठमाडौं
विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवा विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस तथा कार्गो डेलिभरी सेवा ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्र पार्सल तथा सामान ढुवानीलाई सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यका साथ सुरु गरिएको यो सेवा व्यक्ति–व्यक्ति (सी–टु–सी) तथा साना तथा मध्यम व्यवसाय (एसएमबी) दुवैका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

नयाँ सेवासँगै याङ्गो एपले अब राइड–हेलिङ र डेलिभरी दुवै समाधान एउटै प्लेटफर्ममा उपलब्ध गराउँदै काठमाडौंवासी तथा आगन्तुकको दैनिक आवागमन र ढुवानी आवश्यकतालाई सरल बनाएको छ ।

याङ्गो डेलिभरी अन्तर्गत काठमाडौंमा प्रयोगकर्ताले आवश्यकता अनुसार तीन प्रकारका डेलिभरी विकल्प छान्न सक्नेछन् । साना पार्सल र कागजातका लागि मोटो कुरियर, मध्यम आकारका सामानका लागि कार कुरियर, तथा ठूला र भारी सामानका लागि नयाँ रूपमा सुरु गरिएको कार्गो सेवा उपलब्ध गरिएको छ ।

शहरी जीवनशैली र साना व्यवसायहरूमा छिटो तथा सुविधाजनक ढुवानीको माग बढ्दै गएको सन्दर्भमा याङ्गोको यो सेवा व्यक्तिबीच सामान पठाउनेदेखि व्यवसायिक डेलिभरीसम्मका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

याङ्गो डेलिभरीका दक्षिण एसियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले काठमाडौंमा डेलिभरीलाई अझ सहज बनाउने उद्देश्यले विभिन्न विकल्प उपलब्ध गराइएको बताउनुभयो । “सानो प्याकेज होस् वा ठूलो सामान, प्रयोगकर्ताले एप खोलेर आफूलाई उपयुक्त विकल्प छानेर सजिलै डेलिभरी अनुरोध गर्न सक्नेछन्,” उहाँले भन्नुभयो ।

नयाँ कार्गो विकल्प ले ठूला सवारीसाधन आवश्यक पर्ने ढुवानीलाई समेत सहज बनाउनेछ, जसले काठमाडौंभित्र भारी तथा ठूलो सामान ओसारपसार गर्न सरल बनाउने कम्पनीको विश्वास छ ।

याङ्गो डेलिभरीले रुटिङ र ब्याचिङ एल्गोरिदम जस्ता प्रविधिको प्रयोग गरी ढुवानी प्रक्रियालाई प्रभावकारी बनाउँछ । ट्राफिक अवस्थाको प्रभाव कम गर्दै समयमै डेलिभरी सुनिश्चित गर्न सहयोग पुग्ने र लाइभ ट्र्याकिङ सुविधामार्फत पार्सलको अवस्थाबारे ग्राहक र कुरियर दुवैले जानकारी पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले आफ्नै सवारीसाधन वा कुरियर सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीलाई प्रविधिगत सहयोग प्रदान गर्दै अन्तिम–माइल कनेक्टिभिटी सुधारमा केन्द्रित रहेको जनाएको छ । यसले साझेदार चालकलाई राइड–हेलिङ र डेलिभरी दुवै क्षेत्रमा आम्दानीका थप अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।

याङ्गो ग्रुपले सन् २०२५ को मे महिनामा काठमाडौंमा सिटी सेवा एप याङ्गो सार्वजनिक गर्दै नेपाली बजारमा प्रवेश गरेको थियो । परीक्षण चरणमा राइड–हेलिङ सेवा सुरु गरिएको याङ्गो एपमा अब डेलिभरी सेवा समेत थपिँदा काठमाडौंमा दैनिकीलाई थप सहज बनाउने कम्पनीको उद्देश्य रहेको छ ।