एमभी दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौँ
नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा करिब डेढ सय वर्षको गौरवशाली इतिहास बोकेको प्रतिष्ठित एमभी दुगड ग्रुपका अध्यक्ष तथा उद्योगपति मोतीलाल दुगड ८०औँ वर्षमा प्रवेश गर्नुभएको अवसरमा ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।

माघ ४ गते २०८२ (जनवरी १८, २०२६) का दिन “तपाईंको एक थोपा, कसैको जीवन” भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा एमभी दुगड ग्रुपका अटोमोबाइल डिभिजन तथा जलविद्युत डिभिजनमा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

नेपालभर सातै प्रदेशका २० स्थानबाट एकैसाथ सम्पन्न गरिएको उक्त कार्यक्रममा जलविद्युततर्फ १ स्थान, अटोमोबाइल डिभिजनका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १६ शाखा तथा ३ वटा आधिकारिक डिलर केन्द्रहरू समावेश थिए। नेपाल रेडक्रस सोसाइटीका रक्तसञ्चार केन्द्रको सहयोगमा सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गरिएको कार्यक्रममा ५७८ जना रक्तदाताबाट ५७८ युनिट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ ।

संकलित रगतबाट वीरगञ्ज, बुटवल र धनगढीमा उपचाररत तीन जना बिरामीको तत्काल ज्यान जोगाउन सफल भएको जानकारी दिँदै ग्रुपले यस कार्यलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरणका रूपमा उल्लेख गरेको छ। रक्तदान कार्यक्रममा कर्मचारीका साथै स्थानीय बासिन्दा, इष्टमित्र तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको भन्दै आयोजकले सबैप्रति आभार व्यक्त गरेको छ ।

ग्रुपका अध्यक्ष मोतीलाल दुगड एक सफल उद्योगी तथा व्यापारी मात्र नभई समाजसेवी, प्रकृतिप्रेमी, धार्मिक, शालीन तथा बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्छ। स्वास्थ्यप्रति गहिरो सचेतना राख्नुहुने उहाँले “स्वास्थ्य छ भने सबै छ, स्वास्थ्य छैन भने सबै निरर्थक हुन्छ” भन्ने सन्देश निरन्तर रूपमा आत्मसात् गराउँदै आउनुभएको ग्रुपले जनाएको छ ।

उहाँकै प्रेरणा र मार्गदर्शनमा एमभी दुगड ग्रुपले पाँच वर्षअघि अध्यक्षको ७५औँ जन्मवर्षदेखि नै वृहद् वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ। सो अभियानअन्तर्गत सोलुखुम्बु, रामेछाप र दोलखाका जलविद्युत आयोजना क्षेत्रदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका ग्रुपका ४२ शाखा, विद्यालय, मन्दिर तथा सार्वजनिक स्थानहरूमा एक लाखभन्दा बढी बिरुवा रोपण गरिएको छ। तीमध्ये हाल करिब ६५ हजार बिरुवा हुर्किसकेका छन्।

टिमुर, रुद्राक्ष, अमला, लप्सी, सुन्तला, एभोकाडो, ओखर, कपुर, आँप, अम्बा, बेल, जामुन, चन्दन, निम, बाँस लगायतका विभिन्न फलफूल, औषधीय तथा वनस्पतिजन्य बिरुवाको संरक्षण गरिँदै आएको छ। आगामी पाँच वर्षभित्र पाँच लाख बिरुवा रोपण तथा संरक्षण गर्ने लक्ष्य ग्रुपले लिएको छ।

पूर्व मेचीदेखि सुदूर पश्चिम महाकालीसम्म फैलिएको एमभी दुगड ग्रुपले अटोमोबाइल, कृषि, जलविद्युत, निर्माण व्यवसायका साथै बैंकिङ, जीवन तथा निर्जीवन बीमा, पुनर्बीमा र लघु बीमा क्षेत्रमा समेत महत्वपूर्ण लगानी गर्दै आएको छ। हाल ग्रुपले सोलुखुम्बु र रामेछापका जलविद्युत आयोजनाबाट १६१ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गरिरहेको छ भने वर्षायाममा भारतमा विद्युत निर्यात गरी देशलाई विदेशी मुद्रा आर्जनमा समेत योगदान पु¥याइरहेको छ। यसका साथै दोलखामा करिब २०० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन रहेको छ।

एमभी दुगड ग्रुपले उद्योग, ऊर्जा, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको भन्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।