उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाटमा रहेको करदाता सेवा कार्यालय, गाईघाटको सेवा पुर्ण रुपमा बन्द भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कार्तिक १७ को निर्णयअनुसार सेवा कार्यालय खारेज भएको हो ।
करदाता सेवा कार्यालय गाईघाटबाट सम्पादन हुँदै आएका सम्पूर्ण सेवाहरू अब २०८२ पुस २९ गतेदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय, उदयपुर, गाईघाटबाट प्रदान गरिने भएको करदाता सेवा कार्यालय उदयपुरले २८ गते जारी गरेको सूचनामा उल्लेख छ ।
करदाता सेवा कार्यालय गाईघाटका कर अधिकृत विमल कुमार कोइरालाले जारी गर्नुभएको सूचनामा उक्त जानकारी दिइएको हो । सूचनामा करदाता तथा सम्पूर्ण सरोकारवालाहरूलाई अबदेखि सम्बन्धित सबै सेवा कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत लिन अनुरोध गरिएको छ ।
साथै, कार्यालय स्थापनाकालदेखि हालसम्म समन्वय र सहजीकरण गर्दै सहयोग पु¥याउने उदयपुर जिल्लास्थित उद्योग वाणिज्य संघहरू, पेशागत संघ–संस्था तथा सम्पूर्ण सरोकारवालाप्रति करदाता सेवा कार्यालय, गाईघाटले यसै सूचना मार्फत हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
कार्यालय खारेजसँगै करसम्बन्धी सेवा, समन्वय तथा प्रशासनिक कार्यहरू अब कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरबाट सञ्चालन हुने भएकाले सेवाग्राहीलाई नयाँ व्यवस्था अनुसार सेवा लिन अनुरोध गरिएको छ ।











प्रतिक्रिया