ताला खोल्ने आँटै गर्दैनन् त्रिवि पदाधिकारी

0
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कारण १३ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन । नेपाली कम्प्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले पुस १७ गतेबाट लगाएको ताला पदाधिकारीले प्रहरी प्रशासन लगाएर खोल्ने तयारी गरेको थियो । तर, वार्ताबाटै समस्या समाधान हुने आशा राखेका कारण ताला खोल्न नसकेको हो । अर्थात् त्रिविका पदाधिकारीले विद्यार्थी संगठनले फेरि आन्दोलन गर्नसक्ने भयका कारण ताला नखोलेका हुन् ।

त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले तीन दिनअघि सर्वोच्चले विश्वविद्यालयमा तालाबन्दी नगर्न दिएको अन्तरिम आदेशअनुसार ताला खोल्ने बताउनुभएको थियो । ‘वार्ता प्रक्रिया अघि बढिरहेको अवस्थामा तत्काल प्रशासनको सहयोगमा ताला खोल्न केही दिन लागेको हो’ –त्रिविका उपकुलपति प्राडा अर्यालले भन्नुभयो ।

‘हामी अझै पनि विद्यार्थी संगठनबाटै ताला खुलोस् भन्ने आशामा छांै, यदि मान्दै नमाने प्रशासनको सहयोगमा ताला खोल्ने तयारी भइरहेको छ’ –उहाँको भनाइ थियो ।

अनेरास्ववियु (क्रान्तिकारी) त्रिवि जिल्ला समितिका अध्यक्ष दिनेश ऐरले माग पूरा नभएसम्म ताला नखोल्ने स्पष्ट पार्नुभयो । ‘विगतमा भएको सहमति कार्यान्वयन नभएसम्म ताला खोल्दैनौं, यदि विद्यार्थीको मागविपरीत ताला खोले कडा आन्दोलनमा जानेछांै’ –उहाँले भन्नुभयो । त्रिविका पदाधिकारीले यति दिनभित्र निर्णय कार्यान्वयन गर्छांै भनी प्रतिबद्धता जनाए तत्काल ताला खोल्न तयार रहेको तर जबरजस्ती गरे आन्दोलन चर्काउने उहाँको चेतावनी थियो । ‘हामीले छलफल गर्न खोजेका थियांै, उहाँहरूकै कारण तालाबन्दी गरेका हौं’ –अध्यक्ष ऐरले भन्नुभयो ।

यो कुनै विद्यार्थीको व्यक्तिगत माग नभई सयांै विद्यार्थीसँग ३४ दिन लामो आन्दोलनपछि सहमति भएको उहाँको भनाइ थियो । ‘सहमति आफैं गर्ने ? अनि ताला लगायो भनेर मिडियाबाजी गर्दै हिँड्ने ? यो पदाधिकारीको गलत प्रवृत्ति हो’ –अध्यक्ष ऐरको भनाइ थियो ।

कार्यान्वयनमा लग्छौं भनेर हस्ताक्षर गरेपछि मात्र ताला खोल्ने अध्यक्ष ऐरले बताउनुभयो । धेरैपटक अनुनय विनय गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दा अटेर गरेकाले यस्तो अवस्था आएको विद्यार्थी संगठनको भनाइ छ । सो विषयमा त्रिविका पदाधिकारीले विद्यार्थी संगठनका नेतासँग अनौपचारिक कुरा गरिरहेका छन् । संगठनले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीले तीन पदाधिकारी कार्यालय ठप्प छ ।

यसअघि अनेरास्ववियुु र आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिले जेठ ३० गते तालाबन्दी गरेको थियो । करिब दुई हप्ता तालाबन्दी भएको थियो । त्यसबेला ताला नखोलेपछि अदालतले विश्वविद्यालयमा तालाबन्दी नगर्न अन्तरिम आदेश दिएको थियो ।
तालाबन्दीपछि उपकुलपति प्राडा दीपक अर्याल, रजिस्ट्रार खड्ग केसी र रेक्टर केदार रिजाल विभिन्न विभागमा बसेर काम गरिरहनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्वशान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति कार्यान्वयन नभएकाले तालाबन्दी गरिएको हो । उपकुलपति प्राडा अर्यालले ताला नखोलेसम्म वार्ता नगर्ने अडान दाहो¥याउनुभएको छ ।