देशभर आंशिक बदली, तराईमा हुस्सु–कुहिरोको प्रभाव


काठमाडौँ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेस प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु देखिन सक्नेछ। हुस्सु तथा कुहिरोका कारण जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।