आँधीलाई माथ दिने साहस बटुलेकी प्रभा आङदम्बे

नेपाली पारा खेलकुदका प्रेरणादायी खेलाडी

1.03k
Shares

पाँचथरको विकट गाउँ सेपेनीमा वि.सं २०५८ सालमा एउटी बालिकाको जन्म भयो । जसको दाहिने हातको कुहिनामुनिको भाग नै थिएन । समाजको हेयभाव र ‘अपूर्णता’ को ट्यागलाई चिर्दै त्यही बालिका आज नेपाली खेलकुद आकाशमा एउटा चम्किलो तारा बनेर उदाएकी छन् । प्रभा आङदम्बे, जसको बाल्यकाल भारतको कोइलाखानीमा पसिना बगाउने बुवाआमाको सम्झना र लुकीलुकी फुटबल खेलेका यादहरूले भरिएको छ । अर्को हातमा पनि चोट लाग्ला कि भन्ने डरले घरबाट खेल्न अनुमति थिएन, तर प्रभाको नसामा रगत मात्र होइन, सपना कुदिरहेको थियो । पहाडका भिराला पाखाहरूमा लुकीलुकी कुदेकी प्रभा जब कानुन पढ्ने अठोट बोकेर काठमाडौँ आइन्, तब उनको जीवनले नयाँ मोड लियो । काठमाडौँको व्यस्त सडक र ल क्याम्पसको पुस्तकालयदेखि दशरथ रंगशालाको ट्रयाकसम्मको उनको यात्रा कुनै फिल्मको कथाभन्दा कम रोमाञ्चक छैन ।

एउटा यस्तो समय थियो, जब प्रभालाई ‘पारा खेलकुद’ भन्ने शब्द समेत थाहा थिएन । विश्वविद्यालय खेलकुदमा सामान्य धावकहरूसँग कुदेर चौथो स्थान हासिल गरेकी प्रभाको प्रतिभालाई पारखीहरूले ठम्याए र उनी पारा एथ्लेटिक्सको संसारमा प्रवेश गरिन् । सन् २०२४ को राष्ट्रिय प्रतियोगितामा दुईवटा स्वर्ण जितेपछि सुरु भएको उनको तुफानी यात्राले दुबई ग्रान्ड प्रिक्स हुँदै नयाँ दिल्लीमा इतिहास रच्यो । दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा जब प्रभाले लङजम्पमा ३.९६ मिटरको छलाङ मारिन्, त्यो केवल एउटा खेलको नतिजा मात्र थिएन, त्यो त वर्षौँदेखिको थिचोमिचो र शारीरिक चुनौतीमाथिको विजय थियो । नेपालको लागि पारा एथलेटिक्सको यो स्तरको अन्तर्राष्ट्रिय पदक पहिलो थियो, जसले प्रभालाई विश्व च्याम्पियनसिपको लागि ‘वाइल्ड कार्ड’ मात्र दिलाएन, एउटा सिंगो राष्ट्रको भरोसा पनि बनायो ।

प्रभाको दैनिकी सुन्दा जोकोहीको आङ सिरिङ्ग हुन्छ । बिहान ५ बजे नै उठेर टिफिन बनाउने, सार्वजनिक बसको ठेलमठेल सहँदै ल क्याम्पस पुग्ने, कलेज सकेर पुस्तकालय र कहिले अनामनगरका ल फर्ममा इन्टर्नसिप धाउने ती खुट्टाहरू थाक्दैनन् । साँझ परेपछि जब उनी रंगशालाको ट्रयाकमा उभिन्छिन्, उनको अनुहारमा थकान होइन, बरु २०२८ को लस एन्जलस पारा ओलम्पिकको सपना झल्किन्छ । कानुन पढ्नुको पछाडि पनि उनको एउटा गहिरो घाउ छ, अपाङ्गता भएकै कारण समाजले गर्ने विभेद र साथीभाइले देखाउने हेयभाव । उनी आज आफैँ कानुनको विद्यार्थी भएर समाजको त्यो सोचलाई बदल्ने वकालत गरिरहेकी छन् । म्याराथन धाविका बन्ने ठूलो सपना भए पनि प्राविधिक कारणले रोकिनु पर्दा उनी गुनासो गर्दिनन्, बरु ट्रयाक र फिल्ड दुवैमा आफूलाई अब्बल सावित गर्दै अघि बढ्छिन् ।

नेपाल जस्तो देशमा, जहाँ अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यूनतम पूर्वाधार समेत छैन, त्यहाँ प्रभाले देखाएको हिम्मत अतुलनीय छ । ओलम्पियन विमला रानामगरको प्रशिक्षणमा आफूलाई निखारिरहेकी उनी भन्छिन्,“आफूमाथि विश्वास हुनुप¥यो, मिहिनेत गरेपछि नसकिने केही छैन ।” हिजोसम्म उनलाई ‘बिचरी’ देख्ने समाज आज उनीसँग फोटो खिच्न मरिहत्ते गर्छन । बूढानीलकण्ठको होस्टलबाट सुरु हुने उनको प्रत्येक दिनको संघर्षले एउटै सन्देश दिन्छ “अपाङ्गता शरीरमा हुन सक्छ, सोच र सपनामा होईन ।” अब उनको लक्ष्य विश्व च्याम्पियनसिप र एसियाली खेलकुदमा नेपालको झन्डा फहराउने छ । प्रभा आङदम्बे केवल एक खेलाडी मात्र होइनन्, उनी हार मान्न तयार नभएका हजारौँ नेपालीका लागि एउटा जिउँदो र प्रेरणादायी पात्र हुन् ।