राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन


काठमाडौँ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिनेछ ।

आगामी माघ ११ गते हुने निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुने १८ सदस्य चयन गरिनेछ । आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ भने मंगलबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते नाम फिर्ता लिने तथा सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहनेछन् ।