खोटाङ ।
खोटाङका थप दुई स्थानमा अस्थायी बेलिब्रिज जडान गर्न प्रक्रिया सुरु गरिएकोे छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको बतासेघाट तथा खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने सावाखोलामा अस्थायी बेलिब्रिज जडान गर्नका प्रक्रिया सुरु गरिएको हो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय विराटनगरले प्रक्रिया अगाडि बढाएको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बतासेघाट र उदयपुरको लिम्चुबुङ गाउँपालिका–१ बास्बोटेस्थित सुनकोशीमा बेलिब्रिज जडान हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित भोर्मा जोड्ने सावाखोलामा पनि प्रदेश सरकारकै लगानीमा अस्थायी बेलिब्रिज जडान गरिने भएको हो । सवारीसाधन वारपारका लागि अस्थायी बेलिब्रिज जडान गर्न कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले यही पुस–२१ गते ठेक्का आव्हान गरेकोे कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईका स्वकीय सचिव बाजिन्द्र विष्टले जानकारी दिनुभएको छ ।
दुर्छिमको बतासेघाट र बास्बोटेको सीमानामा रहेको सुनकोशीमा बेलिब्रिज जडान पश्चात त्रिधार्मिकस्थल हलेसीको पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङतर्फ सुनकोशी किनारमा बसोबास गर्दै आएका नागरिकलाई तराई आवतजातमा सहजतासँगै सामान ढुवानीमा पनि ठुलो राहत मिल्ने दुर्छिमका वडाध्यक्ष रुपेन्द्रकुमार राईले बताउनुभयो ।
हिउँदको समयमा उदयपुर एवम् तराईका जिल्लाबाट हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आवतजावतमा उक्त अस्थायी बेलिब्रिजले दूरी छोट्याउने स्थानीयले बताएका छन् । सुनकोशीस्थित अस्थायी बेलिब्रिज जडान हुने बतासेघाटमा आइतबार कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राई नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको थियो । उता, बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित भोर्मा र खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे जोड्ने सावाखोलामा हिउँदको समयमा पनि पानीको बहाव घट्दैन ।
बाह्रै महिना पानीको बहाव नघट्ने भएपछि सवारीसाधन वारपार गर्न सावाखोलामा बेलिब्रिज जडान गर्न लागिएको हो । सावाखोलामा बेलिब्रिज जडान हुने भएपछि यात्रु तथा स्थानीय नागरिकलाई ठूलो राहत मिल्ने भएको खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभएको छ । कोशी प्रदेश सरकारकै लगानीमा बङ्शिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको स्थानीयले बताएका छन् ।
सङ्घीय सरकारको लगानीमा सुनकोशीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने गरिएको छ । दिक्तेल–गाईघाट सडकखण्ड अन्तरगत फोक्सिङटारमा बनेको १ सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की गत वर्ष अर्थात वि.सं. २०८१ असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि हिउँदभरी सञ्चालन गर्ने र वर्षा लाग्नासाथ झिक्नेगरी अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । ।











प्रतिक्रिया