पुस २६ गते काठमाडौंमा राष्ट्रिय रेशम सम्मेलन


भक्तपुर ।

यही पुस २६ गते काठमाडौंमा राष्ट्रिय रेशम सम्मेलन आयोजना हुने भएको छ । नेपालको परम्परागत तर उपेक्षित रेशम उद्योगलाई पुनर्जीवन दिँदै दिगो राष्ट्रिय उद्योगका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजक ह्यान्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशकुमार पोखरेलले बताउनुभयो ।

ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको राष्ट्रिय रेशम सम्मेलन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष पोखरेलले बताउनुभयो । आयोजकका अनुसार रेशम उद्योग पुनर्जागरणमार्फत कृषि, उद्योग र निर्यातलाई एउटै मूल्य श्रृंखलामा जोड्ने लक्ष्य लिइएको छ ।

ह्यान्डलुम फ्याब्रिक्सका अध्यक्ष पोखरेलले नेपालको रेशम उद्योग सम्भावनाको अभावका कारण होइन, दीर्घकालीन उपेक्षा, विखण्डित प्रयास र लगानीको कमीका कारण पछाडि परेको बताउनुभयो । पोखरेलका अनुसार विश्व बजारमा दिगो र प्राकृतिक वस्त्रको माग तीव्र रूपमा बढिरहेको सन्दर्भमा अब रेशम उद्योगलाई बेवास्ता गर्न नहुने अवस्था सिर्जना भएको छ ।

सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवासीय नेपाली, विकास साझेदार, कृषक, सहकारी, उद्यमी तथा निर्यातकर्तालाई एउटै राष्ट्रिय मञ्चमा एकत्रित गरिने बताइएको छ । सम्मेलनको उदघाटन कृषि तथा पशुपक्षी विकास मन्त्री डा. मदन परियारले गर्ने कार्यक्रम रहेको छ । रेशम विश्वकै उच्च मूल्य हुने कृषि–औद्योगिक उत्पादनहरूमध्ये एक मानिन्छ । अध्यक्ष पोखरेलले रेशम उद्योगबाट उच्च आम्दानी, न्यून कार्बन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी सिर्जना र मूल्य अभिवृद्धि भएको निर्यात सम्भव हुने बताउनुभयो ।

२२ हजार हेक्टर किम्बु खेतीबाट वार्षिक करिब पाँच खर्ब रुपियाँ बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

हाल एकीकृत मूल्य लाको अभाव, नीतिगत प्राथमिकता नपाइनु, वित्तीय पहुँच र बिमाको कमी, प्रविधि तथा सीप अभाव, साथै बजार र निर्यात संयन्त्र कमजोर भएकै कारण रेशम उद्योग संकटतर्फ उन्मुख भएको अध्यक्ष पोखरेलको भनाइ छ ।
१० वर्षे ‘नेपाल रेशम भिजन’ र नयाँ साझेदारीमा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको आयोजकको भनाइ छ ।

सम्मेलनमा १० वर्षे राष्ट्रिय रेशम विकास ढाँचा (२०२६–२०३५) अवलम्बन, क्लस्टरमा आधारित किम्बु खेती र रेशम किरा पालन, विशेष वित्तीय, व्यापारिक तथा बिमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, साथै एकीकृत ‘नेपाल सिल्क’ ब्रान्डिङ र बजार पहुँचका विषयमा गहन छलफल हुनेछ ।

ह्यान्डलुम फ्याब्रिक्सका उपाध्यक्ष रामलाल श्रेष्ठका अनुसार सम्मेलनबाट रेशम उद्योगमा सरकारका लागि नीतिगत सिफारिस, लगानी तथा वित्तीय प्रतिबद्धताको खोजी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामार्फत जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।