आजबाट नेपाली सेनाको पाँच दिने पदयात्रा

564
Shares

उदयपुर ।

नेपाली सेनाको पशुपती प्रसाद गणको आयोजनामा ऐतिहासिक गढी उदयपुरगढी देखि चौदण्डीगढी सम्म पदयात्रा आजबाट सुरु हुँदै छ । उदयपुरगढीबाट आज एक समारोह विच पदयात्राको शुभारम्भ हुने भएको हो ।


उदयपुर जिल्लामा रहेका ऐतिहासिक गढी किल्लाको पहिचान गर्दै जिल्लाको पर्या– पर्यटनलाई प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्य अनुरुप आजवाट सुरु भई २७ गते सम्पन्न हुने पशुपति प्रसाद गणले जनाएको छ ।

ऐतिहासिक गढीको संरक्षण, पर्या पर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भुगोल र नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सेनाले पदयात्रा संचालन गर्न लागिएको नेपाली सेनाका पशुपती प्रसाद गणका गणपती प्रमुख सेनानी मनोज कार्कीले जानकारी दिनु भयो । यसअघि ७ दिन संचालन गरिने पदयात्रा घटाएर ५ दिनमा समायोजन गरिएको छ । पदयात्राको उद्घाटन समारोहमा नेपाली सेना पूर्वीपृतनाका पृतनापति उपरथी गौरव कुमार केसीको प्रमुख आथित्यतामा हुने तय भएको प्रमुख सेनानी मनोज कार्कीेले जानकारी दिनु भयो ।

पदयात्रा उदयपुरको उदयपुरगढी गाउँपालिकाबाट सुरु भएर पहिलो दिन उदयपुरगढीबाट सुरु भएर उदयपुरगढीकै ढङुग्रेसम्म १६ किलोमिटर, दोस्रो दिन ढङुग्रेबाट पुवारे भन्ज्याङ २१ किलो मिटर, तेस्रो दिन पुवारे भन्ज्याङबाट साउने २१ किलोमिटर, चौथो दिन साउनेबाट विरेन्द्रबजार २४ किलोमिटर र पाँचौ दिन विरेन्द्र बजारबाट चौदण्डीगढी १५ किलोमिटर पदयात्रा हुने छ ।

५ दिन लामो यात्राको क्रममा सो क्षेत्रमा पर्ने विद्यालयहरुमा विभिन्न प्रतियोगीतात्मक कविता, निवन्ध, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु संचालन गर्ने र सो को व्यवस्थापन र सहयोग स्थानिय पालिकाहरुले गर्ने तयारी भएको छ ।

पद यात्रालाई थप आकर्षण थप्नको लागि नेपाली सेनाको ऐतिहासिक कालो पोसाकका सैनिकहरुलाई समेत सहभागीता गराउने योजना रहेका प्रमुख सेनानी कार्कीले जानकारी दिनु भयो । पदयात्रामा नेपाली सेनासँंगै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्थानिय नागरिक लगायतलाई सहभागी भएर पदयात्रा सफल बनाउनको लागि सेनाले आग्रह समेत गरेको छ ।