उदयपुर र खोटाङ जोड्ने कुनाईघाटमा बेलिब्रीज जडान हुने

940
Shares

उदयपुर ।

उदयपुरको लिमचुङबुङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिका जोड्ने सुनकोशी नदीको कुनाईघाट (बतासे) मा यसै वर्ष बेलिब्रीज जडान गरिने भएको छ । लामो समयदेखि पक्की पुलको अभावमा सास्ती खेप्दै आएका यस क्षेत्रका बासिन्दा र पर्यटकका लागि यो बेलिब्रीज निर्माणले ठूलो राहत दिने अपेक्षा गरिएको छ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले सोमबार प्राविधिक टोलीसहित कुनाईघाटको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री राईले चालू आर्थिक वर्षभित्रै काम सम्पन्न हुने गरी तत्काल लागत अनुमान (इस्टिमेट) तयार गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका इन्जिनियर सरगम राईका अनुसार प्राविधिक टोलीले नदीको सतह, चौडाइ र गहिराइ मापन गरी उपयुक्त स्थानको पहिचान गरेको छ । हाल सञ्चालनमा रहेको जीर्ण झोलुङ्गे पुलभन्दा करिब २०० मिटर उत्तरतर्फ नदी साँघुरो भएको स्थानमा बेलिब्रीज जडान गर्न उपयुक्त हुने देखिएको छ । प्राविधिकहरूका अनुसार बेलिब्रीजका लागि ५० मिटरको चौडाइ उपयुक्त हुन्छ; जहाँ चौडाइ बढी छ, त्यहाँ ढुङ्गा–माटो पुरेर दूरी कायम गरिनेछ ।

कुनाईघाट नाका उदयपुरको लिमचुङबुङदेखि खोटाङको प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी जोड्ने सबैभन्दा छोटो र महत्वपूर्ण मार्ग हो । उदयपुरको माझखर्कदेखि कुनाईघाट हुँदै हलेसी पुग्न सवारी साधनमा मात्र १ घण्टा लाग्नेछ । हलेसी महादेवको दर्शन गर्नकालागि यो सबैभन्दा छा्टो रुट हुनेछ भने अँतरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत ठूलो महत्व राख्नुका साथै आर्थिक विकासमा ेवा पुग्ने छ । कुनाईघाटबाट हलेसी बजार जम्मा ९ किलोमिटरको दूरीमा मात्र पर्दछ ।

तराईका जिल्लाहरू सिराहा (लाहान, गोलबजार) र उदयपुरको गाईघाटबाट हलेसी जाने पर्यटकका लागि यो मार्ग निकै सहज हुनेछ ।

हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राईले यो नाकामा पुल निर्माण हुनु अनिवार्य रहेको बताउनुभयो । पुल बनेपछि हलेसी आउने पर्यटकको संख्या बढ्ने र दुवै स्थानीय तहको आर्थिक विकासमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

यस्तै, लिमचुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पक्की पुलको दीर्घकालीन आवश्यकता रहे पनि तत्कालका लागि बेलिब्रीज जडान हुनु स्वागतयोग्य कदम भएको बताउनुभयो । “बेलिब्रीज बनेपछि कम्तीमा ६ महिना सिधा यातायात सञ्चालन हुँदा पनि भक्तजन र स्थानीयलाई ठूलो सहजता मिल्नेछ,“ उहाँले भन्नुभयो ।

मन्त्रालयले यसका लागि बजेट विनियोजन गरिसकेकाले इस्टिमेट तयार हुनासाथ ठेक्का प्रक्रिया अघि बढाइने इन्जिनियर राईले जानकारी दिनुभयो ।