काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा फेसबुक, टिकटकजस्ता डिजिटल माध्यमको हुनसक्ने दुरुपयोग नियन्त्रणका लागि आयोगले गृहकार्य अघि बढाएको छ । आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले डिजिटल माध्यमबाट हुनसक्ने आचारसंहिताको उल्लंघनलाई ठूलो चुनौती रहेको निष्कर्ष निकाल्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी संयन्त्र बनाउन तयारी अघि बढाएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि स्वीकृति आचारसंहिता राजपत्रमा प्रकाशित गरेसँगै बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले आयोगको सक्रियतासँगै आचारसंहिताको प्रभावकारी परिपालना एवं कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्यको विशेषमा जोड दिइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा चुनौती थपेका छन् ।
निर्वाचनका समयमा सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूबाट प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायतका विषयमा आयोगको विशेष ध्यान गएको छ । त्यसको नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्ने जरुरी रहेको छ ।’ यसका लागि आयोगको सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्ने तयारी रहेको पनि उहाँको भनाइ रहेको छ ।
आयोगका अनुसार प्रचलित कानुनले तोकेका नियामक निकायको भूमिका, आचारसंहिता कार्यान्वयनका चुनौती र नियन्त्रणका विविध पक्षमा गृहकार्य गरिरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक, प्रवद्र्धनात्मक र दण्डात्मकजस्ता विधिहरूलाई एकसाथ अघि बढाउन उपयुक्त हुने आयोगको सोच रहको छ ।
राजपत्रमा प्रकाशित आचारसंहितामा सामाजिक सञ्जालको गलत प्रयोग र एआईको दुष्प्रचार गरे उम्मेदवारी नै खारेज हुन सक्ने कडा व्यवस्था राखिएको छ । चुनावी राजनीतिमा एआईको दुरुपयोग हुन सक्नेलाई मध्यनजर गर्दै आयोगले आयोगले सामाजिक सञ्जाल, फेक अकाउन्ट र एआईबाट फैलाइने भ्रामक सूचनामाथि कडाइ गर्ने आचारसंहितामा समेटिएको हो । विशेष गरी एआईको प्रयोग गरी यथार्थता बंग्याउने, गलत र भ्रामक सूचनाको प्रचार गर्ने कार्यलाई निरुत्साहित गर्न आयोगले यस्तो तौरतरिका अपनाएको हो ।
आचारसंहिता कार्यान्वयनमा प्रविधि दुरुपयोग रोक्ने प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहयोग र सहकार्य अपरिहार्य रहेको निर्वाचन आयुक्त डा. जानकी तुलाधरले बताउनुभयो । राजनीतिक दलहरूसँग समेत परामर्श गरेर आचारसंहिता लागू गर्ने जानकारी गराउनुभयो । आयोगका अनुसार यही माघ ५ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी रहेको छ । निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना तथा भ्रमपूर्ण जानकारी न्यूनीकरणमा आयोग सचेत रहेको उहाँको भनाइ छ ।
अनुगमन समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुनशम्शेर जबराले विगतका कमजोरीलाई सुधार गरी यस पटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनको स्वच्छ र निष्पक्षताका लागि आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक रहेकाले सूचना प्रविधिको दुरुपयोगबाट हुने चुनौती रोक्न आयोगले सबै पक्षसँग सहकार्य गरिने बताउनुभयो ।











प्रतिक्रिया