“नेकपाले केन्द्रीय समिति विस्तार, २९ गते शपथ ग्रहण”


काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । विभिन्न घटकहरू एकीकृत भएर बनेको उक्त पार्टीले यही मिति २९ गते नयाँ केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गर्न लागेको हो। पार्टीका नेता प्रेमबहादुर सिंहका अनुसार केन्द्रीय समिति विस्तारपछि सदस्य संख्या २ हजार ४ सय ९९ पुग्नेछ ।

साथै पार्टीले ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि गठन गर्ने तयारी गरेको छ । उनका अनुसार पार्टीको सचिवालय संरचना भने सीमित सङ्ख्याको हुने भए पनि कति सदस्यीय बनाउने भन्ने विषयमा हालसम्म अन्तिम टुंगो लागिसकेको छैन । सचिवालयभन्दा अझ सानो संरचनाका रूपमा केन्द्रीय कार्यसंयोजन समिति गठन गरिने तयारी समेत भइरहेको सिंहले जानकारी दिए ।

नयाँ केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम डिजिटल र भौतिक दुवै माध्यमबाट सम्पन्न गर्ने तयारी गरिएको पार्टीले जनाएको छ । पार्टी संगठनलाई थप सुदृढ, प्रभावकारी र देशव्यापी रूपमा मजबुत बनाउने उद्देश्यले केन्द्रीय समिति विस्तार गरिएको पार्टीको भनाइ छ ।