धनगढी ।
सुदूरपश्चिमलाई राजधानी काठमाण्डौसंग जोड्न तथा सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा हवाई यातायात सुविधा उपलब्ध गराउन दश विममानस्थल स्थापना गरिएको छ । सुदूरपश्चिमका नौ जिल्ला मध्ये डडेल्धुरा बाहेकका अन्य जिल्लामा दश वटा विमानस्थल रहेकाछन । कैलाली र अछाममा दुई दुई वटा विमानस्थल छन भने डडेल्धुरा जिल्लामा एउटा पनि विमानस्थल छैन ।
पाँच पटक प्रधानमन्त्री भईसक्नुभएका शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरमा भने एउटा पनि विमानस्थल बन्न सकेको छैन । भौगोलिक वनावटको असहजताका कारण डडेल्धुरामा विमानस्थल बन्न नसकेको दावी गरिएको छ । केही वर्ष अघिमात्र डडेल्धुरामा पनि विमानस्थ बनउनुपर्ने भन्दै माग भएपछि केही स्थानको अध्ययन गरिएको थियो तर हाल के भइरहेको छ भन्ने बारेमा कुनै सूचना जनताले नपाएको स्थानीय बासिन्दाहरु बताउँछन् ।
कैलालीको धनगढी र टीकापुरमा ,अछामको साँफेवगर र कमलबजारमा विमानस्थल छन भने डोटीको दिपायल,बाजुराको कोल्टी,बैतडीको पाटन,बझांगको देवल,कञ्चनपुरको महेन्द्रनगर र दार्चुलाको गोकुलेश्वर विमानस्थल रहेकाछन् । दश वटा विमानस्थल मध्ये कैलालीको गेटा र बाजुराको कोल्टी विमानस्थल मात्र चालु अवस्थामा रहेकाछन् ।
कैलालीको गेटा विमानस्थलबाट राजधानी काठमाण्डौमा उडान सेवा छ भने बाजुराको कोल्टीमा बाँकेको नेपालगञ्जबाट नियमित सेवा सञ्चालनमा रहेको छ । कञ्चनपुरको महेन्द्रनगर र दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको अवस्थामा रहेको छ । साँफे,दिपायल,बझाँग,पाटन,टीकापुर विमानस्थल अहिले पनि जहाज चल्न सक्ने अवस्थामा छन भने अछामको कमलबजार विमानस्थल भने बन्द अवस्थामानै रहेको छ । यस विमानस्थलमा परिक्षण उडान गरिएपनि नियमित भने हुनसकेको छैन ।
धनगढीलाई मुख्य केन्द्र बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गरेमा यस क्षेत्रका बासिन्दाले सुविधा पाउने अवस्था थियो तर नेपाल सरकार संग विमानहरु नभएकाले सेवा सञ्चालन गर्न सकिएको छैन । निजी विमान कम्पनीहरुले पनि सुदूरपश्चिमलाई प्राथमिकतामा नराखेकोले सुपका पहाडी जिल्लाका बासिन्दाले हवाई सेवा लिन चाहेर पनि सेकेका छैनन् । हवाई सेवा सञ्चालन भएमा जनताले छोटो समयमा धेरै काम गर्न सक्ने अवस्था थियो तर सडक यातायातबाट यात्रा गर्दा समय
धेरै लाग्ने गरेको पहाडी जिल्लाका बासिन्दाहरुको भनाई छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट राजधानी काठमाण्डौमा केही घण्टामा पुगेर काम गर्न सक्ने अवस्था हुने थियो तर सडक यातायातबाट यात्रा गर्दा तीन दिनमा काठमाण्डौ पुग्नुपर्ने अवस्था रहेको छ । प्रदेश सरकारले जहाज किनेर सेवा सञ्चालन गर्न सक्ने अवस्था भएपनि सरकार सञ्चालकहरुको इच्छाशक्ति नभएकै कारण जनताले सुविधा पाउनबाट बञ्चित हुन पुगेको नागरिक अगुवा प्रमोद पाठकको भनाई छ ।
क्यापटेन बेद उप्रेतीका अनुसार प्रदेश सरकारले चाहेमा जहाजनै किनेर सेवा दिन सकिन्छ । तर सकार सञ्चालकहरुले यतातिर ध्यान नदिएको उप्रेतीको भनाई छ । जहाज नभएपनि हेलीकप्टरबाट समेत सेवा दिन सक्ने अवस्था छ तर त्यसकालागि इच्छाशक्तिको खाँचो छ उहाँको भनाई छ ।











प्रतिक्रिया