काठमाडौ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा पौष २२ गते माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख आतिथ्यमा केन्द्रिय राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ ।
माननीय अर्थमन्त्री खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई आवश्यक संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने र राजश्व चुहावट नियन्त्रण गर्न अन्तर निकायमा भए गरेका कमिकमजोरीलाई समेत सुधार्दै लैजानु पर्ने बताउनुभयो ।
उहाँले कुनै एकल निकायको प्रयासले मात्र राजश्व चुहावट नियन्त्रण गर्न सम्भव नहुने हुँदा सम्बन्धित सरोवाला निकायहरुको संयुक्त प्रयासले लक्ष्य प्राप्त गर्न सकिने बताउनुहँुदै राजश्व चुहावट नियन्त्रणका लागि कुनै पनि कार्य गर्दा आम नागरिकलाई दुःख नहोस् भन्ने कुरामा समेत ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।
सो बैठकमा अर्थसचिव डा.घनश्याम उपाध्यायले राजश्व चुहावट नियन्त्रण कार्य सबैको साझा दायित्व रहेको उल्लेख गर्नुहुँदै सिमित साधनश्रोतका बावजुद पनि अधिकतम परिचालन भई परिणाम हासिल गर्नुपर्ने हालको अवस्थामा प्राप्त जिम्मेवारीलाई थप प्रभावकारी रुपमा निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी राजश्व सचिव भुपाल बरालले खुल्ला सिमानाका कारण शान्ति सुरक्षा र राजश्व संकलन दुवैमा चुनौती रहेको र सिमित श्रोतसाधनका बीच सुरक्षा निकायले राजश्व चुहावट नियन्त्रणमा उत्कृष्ट कार्य गर्दै आईरहेको तथा सो कार्यलाई अझै थप व्यावसायिक र समन्वयात्मक ढंगले उपलब्धीमूलक परिणाम हासिल गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सीमा क्षेत्रमा रहेका गोदाम लाई सीमा बाट निश्चित दुरिमा राख्नुपर्ने तथा बजार अनुगमनलाई तीब्र बनाउनुपर्ने साथै सीमा नाकाबाट बरामद भएका अवैध सामानहरुको सहज रुपमा लिलाम प्रक्रिया अघि बढाउन जरुरी रहेको बताउनुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राजश्व चुहावट नियन्त्रणमा खटिने सम्पूर्ण कर्मचारीहरु आपसी समन्वय र सहकार्यकासाथ परिचालन भएमा मात्र राजश्व संकलन तथा चुहावट नियन्त्रण परिणाममुखी हुने र सीमा नाकाबाट आवत–जावत गर्नेहरुको समेत अभिलेख राख्न जरुरी रहेको बताउनुभयो ।
उहाँले राजश्व चुहावट नियन्त्रण कार्यमा खटिने निकायहरुले एकले अर्कालाई दोषारोपण गरेर मात्र समस्याको समाधान नहुने तथा लक्ष्यमा पुग्न नसकिने बताउनुहँुदै सिमित श्रोतसाधनका बाबजुद राजश्व संकलन र चोरीपैठारी नियन्त्रणमा प्रभावकारी कार्य गर्न अत्यन्त जरुरी रहेको साथै सीमामा परिचालित सशस्त्र प्रहरी राजश्व चुहावट नियन्त्रणमा प्रतिवद्ध रहेको समेत उल्लेख गर्नुभयो ।
त्यस्तै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले राजश्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरी सीमा नाकामा खटिदै आएको र चालु आर्थिक वर्षको करीव ६ महिना अवधिमा १ अर्व ८५ करोड भन्दा बढिको अवैध सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान र भन्सार कार्यालयमा दाखिला गरेको समेत बताउनुभयो ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले राजश्व चुहावट नियन्त्रण कार्यमा सबै निकायहरुको संयुक्त प्रयास जरुरी रहेको र सो कार्यलाई सहजिकरण गर्न सम्बन्धित सबै निकायहरु समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले सीमा नाकाहरुमा अवैध क्रियाकलाप गर्नेहरुमा निगरानी गर्न जरुरी रहेकोे बताउनुभयो ।
त्यसैगरी अर्थमन्त्रालयका सह–सचिव उत्तर कुमार खत्रीले राजश्व चुहावट नियन्त्रणमा खटिने निकायहरु बीच समयमा नै प्रभावकारी समन्वय राखी कार्य गर्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रदेशस्थित बाहिनी मुख्यलायका बाहिनीपतिहरुले सीमा क्षेत्रमा भएका व्यवहारिक कठिनाई र अवैध चोरीपैठारी लगायतका विविध आपराधिक गतिविधिहरुमा बारेमा जानकारी गराउनुभएको थियो । सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा तथा राजश्व सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र गणेश बहादुर ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त अनुसन्धान निर्देशक ओमप्रकाश जोशी, भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, सम्पत्ती सुदृढीकरण अनुसन्धान विभागका उप–महानिर्देशक निर्मल ढकाल, गृहमन्त्रालयका सह–सचिव आनन्द काफ्ले लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया