बालिकालाई करणी गरी हत्या गर्ने व्यक्ति पक्राउ


सिरहा ।

सिरहाको कर्जन्हा नगरपालिकामा एक बालिकालाई करणी गरी हत्या गरिएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ साल ०८ महिनाको २२ गते दिउँसो करिब १४ः४५ बजे सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–२, स्कुल टोलस्थित कमला सिंचाइ नहरबाट करिब १५–२० मिटर उत्तरतर्फको झाडीमा कर्जन्हा नगरपालिका–१, बाल्टिया बस्ने करिब १७ वर्षीया बालिकाको मृत शरीर फेला परेको थियो। घटनापछि प्रहरीद्वारा व्यापक अनुसन्धान थालिएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया तथा इलाका प्रहरी कार्यालय बन्दिपुर, सिरहाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म तथा प्राविधिक अनुसन्धान पश्चात घटनामा संलग्न व्यक्ति पहिचान गर्न सफल भएको हो।

अनुसन्धानको क्रममा धनुषा जिल्ला, छिरेश्वरनाथ नगरपालिका–३, बटैया टोल बस्ने वर्ष ४५ का राम बालक चौधरी उक्त जघन्य अपराधमा संलग्न रहेको पुष्टि भएपछि उनलाई मिति २०८२ साल ०९ महिनाको २१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनासम्बन्धी थप अनुसन्धान इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाबाट भइरहेको प्रहरीले जानकारी दिएको छ।

उक्त घटनाले स्थानीय क्षेत्रमा गम्भीर आक्रोश र शोकको वातावरण सिर्जना भएको छ। पीडित परिवारलाई न्याय दिलाउन दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग स्थानीयवासीले गरेका छन्।