काठमाडौँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सातै प्रदेशका कर्मचारी, सुरक्षा अधिकारी र सचिवहरूलाई आवश्यक निर्देशन दिएका छन्।
मंगलबार भएको छलफलमा मन्त्री अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिम मूल्याङ्कन प्रदेश तहबाटै गर्न, सुरक्षा सूचनाको संकलन, विश्लेषण र मूल्याङ्कन गरी शान्ति सुरक्षालाई मजबुत बनाउने विषयमा जोड दिएका हुन्। उनले कर्मचारी र सुरक्षा निकायलाई सहजकर्ता, समन्वयकर्ता र उत्प्रेरकको भूमिकामा रहँदै निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।
गृहमन्त्री अर्यालले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र संघ–प्रदेशबीच समन्वय कायम गर्दै सुरक्षा संयन्त्रलाई चुस्त र मजबुत बनाउने आवश्यकता औँल्याए। गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन कमान्ड पोस्टमार्फत सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन, भौगोलिक अवस्था र संवेदनशीलतालाई ध्यानमा राख्न र राजनीतिक दलसँग समन्वय गर्न निर्देशन दिए।
बैठकमा सातै प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए।











प्रतिक्रिया