राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस तालमेलसहित जाने


काठमाडौँ । 

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी सहभागी हुने निर्णय गरेको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते हुने निर्वाचनमा तालमेलको बाटो रोज्ने निर्णय गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार कांग्रेसले अन्य दलहरूसँग सहकार्य गरेर निर्वाचनमा जानेछ। दलहरूबीचको छलफलअनुसार कांग्रेस र एमालेले सात–सात सिट, नेकपा (माओवादी केन्द्र) ले तीन र जसपा नेपालले एक सिट पाउने गरी करिब सहमति बनेको छ। यद्यपि, कुन क्लस्टरमा कुन पार्टीका उम्मेदवार रहने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी छ।

तालमेलसम्बन्धी छलफललाई अन्तिम रूप दिन कार्यसम्पादन समितिको अर्को बैठक बुधबार बिहान ९ बजे बस्ने जनाइएको छ।आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए ।