काठमाडौं ।
काठमाडौं महानगरपालिकाका विभिन्न स्थानबाट पार्किङ गरी राखिएका दुईवटा मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२/०९/१५ गते अन्दाजी १२:२० बजे काठमाडौं महानगरपालिका वडा नं. ३२ तिनकुनेस्थित अन्नपूर्ण पोस्ट कर्पोरेट टावरको पार्किङमा राखिएको बा.प्र.०२–०२३ प ६२०७ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल चोरी भएको थियो।
सोही दिन अन्दाजी १४:०० बजे काठमाडौं महानगरपालिका वडा नं. ०९ सिनामंगलस्थित इम्पावर हन्टर एचआर सोलुसन प्रा.लि.को पार्किङमा राखिएको बा.प्र.०३–००२ प ०८५९ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल पनि चोरी भएको भनी प्रहरीमा निवेदन परेको थियो। प्राप्त निवेदनको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले मिति २०८२/०९/२१ गते अन्दाजी १७:०० बजे काठमाडौं महानगरपालिका वडा नं. ३२ तिनकुनेबाट उक्त चोरी घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ०७ चावहिल बसोबास गर्ने २३ वर्षीय अब्राहम थामी र जिल्ला दोलखा विगु गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ०२ थिमिनिज बसोबास गर्ने २३ वर्षीय गोविन थामी रहेका छन्।
प्रहरीका अनुसार अब्राहम थामीविरुद्ध यसअघि विभिन्न मितिमा चोरी, डाँका, अभद्र व्यवहार तथा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको अभिलेख रहेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया