एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा बादल


काठमाडौं ।

नेकपा (एमाले) ले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटी गठन गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो।

कमिटीले पार्टीको संगठनात्मक परिचालन, चुनावी रणनीति, सन्देश प्रवाह र मैदानस्तरको व्यवस्थापन सम्हाल्ने जनाइएको छ। गठित कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहेका छन्। पार्टी स्रोतका अनुसार कमिटीले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी संरचनालाई सक्रिय बनाउँदै चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।

यसैगरी सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा चुनावी घोषणा पत्र ९घोषणापत्र० समिति गठन गर्ने निर्णय पनि गरेको छ। घोषणा पत्र समितिले पार्टीको नीति, कार्यक्रम र प्रतिबद्धताहरूलाई समेटेर समयानुकूल तथा जनमुखी घोषणापत्र तयार गर्ने जिम्मेवारी पाएको छ।

बैठकमा राष्ट्रिय राजनीति, निर्वाचनको वातावरण, गठबन्धनको अवस्था र पार्टीको आन्तरिक तयारीका विषयमा समेत छलफल भएको जनाइएको छ। एमालेले निर्वाचनलाई पार्टीको पुनरुत्थानको अवसरका रूपमा लिँदै संगठन सुदृढीकरण र जनसम्पर्क अभियानलाई तीव्र बनाउने संकेत दिएको छ। पार्टी नेतृत्वले आगामी दिनमा निर्वाचन तयारीलाई केन्द्रमा राख्दै केन्द्रीय, प्रदेश र जिल्ला तहका संरचनालाई थप सक्रिय बनाउने बताएको छ।