काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भई सक्रिय गतिविधिमा लागेका तथा आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन आग्रह गरेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफलका क्रममा सरकारको गैरदलीय चरित्रमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै दलीय गतिविधिमा खुला रूपमा संलग्न भइसकेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी हुन्।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले “सरकार गैरदलीय भएको अवस्थामा मन्त्रीहरू दलीय राजनीतिक गतिविधिमा संलग्न हुँदा सरकारको निष्पक्षतामाथि सार्वजनिक रूपमा प्रश्न उठेको” भन्दै परिस्थितिको संवेदनशीलता बुझ्न आग्रह गरेकी थिइन्। उनले यो आग्रह औपचारिक निर्णय नभई राजनीतिक नैतिकताको विषय भएको स्पष्ट पारेकी थिइन्।
हाल ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग नजिक रहेर गतिविधिमा संलग्न भइरहेको भन्दै सार्वजनिक आलोचना हुँदै आएको छ। यस्तै, सञ्चारमन्त्री जगदीश खरेलले पनि आगामी निर्वाचन लड्ने चाहना व्यक्त गर्दै रास्वपाका नेता रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री घिसिङबीचको सम्भावित सहकार्यप्रति सकारात्मक धारणा राख्दै आएको चर्चा छ।
यद्यपि सम्बन्धित मन्त्रीहरूले भने आफूहरू सरकारको जिम्मेवारीमा केन्द्रित रहेको र दलीय गतिविधिमा औपचारिक रूपमा संलग्न नभएको दाबी गर्दै आएका छन्। उनीहरूले राजीनामाको विषयमा हालसम्म कुनै निर्णय नभएको बताएका छन्। प्रधानमन्त्रीको आग्रहपछि मन्त्रीहरूबीच आन्तरिक छलफल सुरु भएको बताइएको छ। सरकारको निष्पक्षता, विश्वसनीयता र आगामी निर्वाचनको वातावरणलाई ध्यानमा राख्दै प्रधानमन्त्रीको पहललाई राजनीतिक रूपमा महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।











प्रतिक्रिया