कोशीमा स्टार्टअप उद्यम तीव्र गतिमा वृद्धि


काठमाडौं ।

कोशी प्रदेशमा स्टार्टअप उद्यम तीव्र गतिमा वृद्धि भइरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । स्टार्टअप उद्यमहरूमा कुल लगानी २ अर्ब ५६ करोड रुपियाँ रहेको छ, जसमा ३८.७ प्रतिशत ऋण र ६१.३ प्रतिशत स्वपूँजी रहेको प्रतिवेदनमा उल्लेख छ । बजार पहुँचको हिसाबले ४५ प्रतिशत उद्यम स्थानीय, ४६.९ प्रतिशत राष्ट्रिय र ८.१ प्रतिशत अन्तर्राष्ट्रिय बजारमा आधारित छन् ।

अध्ययनअनुसार १६० उद्यममध्ये ६५ वटा (४०.६ प्रतिशत) ले सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छन् भने ९५ वटा (५९.४ प्रतिशत) उद्यमले कुनै पनि सरकारी अनुदान प्राप्त गरेका छैनन्।

प्रतिवेदनले ८० प्रतिशत स्टार्टअप उद्यम नाफामा सञ्चालनमा रहेको र २० प्रतिशत उद्यमले नोक्सान व्यहोरेको जनाएको छ। सोही अवधिमा स्टार्टअप उद्यमहरूको कुल बिक्री आम्दानी ९२ करोड ६४ लाख रुपैयाँ र कुल नाफा १२ करोड ९२ लाख रुपियाँ रहेको छ। औसत नाफा दर १३.९ प्रतिशत र औसत लगानी प्रतिफल दर ५.७ प्रतिशत रहेको देखिन्छ ।

स्टार्टअप व्यवसाय सुरु गर्न उद्यमीलाई उत्प्रेरित गर्ने प्रमुख कारणमा ३७.१ प्रतिशतले आत्मनिर्भर बन्ने इच्छा, २५.८ प्रतिशतले समाजमा योगदान गर्ने चाहना, २५.१ प्रतिशतले नयाँ अवसरको खोजी र ७.९ प्रतिशतले रोजगारीको अभावलाई उल्लेख गरेका छन्।

प्रतिवेदनले कोशी प्रदेशमा कृषि तथा वनजन्य क्षेत्रलाई सबैभन्दा सम्भावनायुक्त स्टार्टअप क्षेत्रको रूपमा पहिचान गरेको छ भने पर्यटन र उत्पादनमूलक क्षेत्रलाई पनि उल्लेखनीय सम्भावनायुक्त क्षेत्रका रूपमा औंल्याएको छ । साथै, स्टार्टअप उद्यमको प्रवद्र्धनका लागि बिउ पुँजी, सह–लगानी मोडेल, भेन्चर क्यापिटल, कर छुट, कर्जा पहुँच सहजता, कानुनी प्रक्रियाको सरलीकरण तथा संघीय, प्रदेश र स्थानीय तहमा इन्क्युबेसन सेन्टर स्थापना आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनअनुसार कोशी प्रदेशका १४ जिल्लामध्ये १० जिल्लामा सञ्चालनमा रहेका १६० वटा स्टार्टअप उद्यममध्ये ४१.३ प्रतिशत कृषि तथा वनजन्य क्षेत्रमा आधारित छन् । त्यस्तै १८.१ प्रतिशत उत्पादनमूलक, १७.५ प्रतिशत सेवामूलक, १३.८ प्रतिशत पर्यटन र ९.४ प्रतिशत सूचना प्रविधि क्षेत्रमा केन्द्रित रहेका छन् ।

अध्ययन अनुसार १६० स्टार्टअप उद्यममध्ये ५४ प्रतिशतले वस्तु तथा सेवामा, ४१ प्रतिशतले उत्पादन प्रक्रियामा र ५ प्रतिशतले वितरण प्रक्रियामा नवीन सोच र नवप्रवर्तनको प्रयोग गरेका छन् । उद्यमीहरूले कोशी प्रदेशको उच्च व्यावसायिक सम्भावना रहेको क्षेत्रका रूपमा ४३.१ प्रतिशतले कृषि तथा वनजन्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

त्यस्तै २१.३ प्रतिशतले पर्यटन, १३.८ प्रतिशतले उत्पादनमूलक, १० प्रतिशतले सेवामूलक, ८.१ प्रतिशतले सूचना प्रविधि तथा समान १.९ प्रतिशतले ऊर्जा र निर्माण क्षेत्रलाई सम्भावनायुक्त क्षेत्रका रूपमा उल्लेख गरेका छन्। भौगोलिक रूपमा हेर्दा कोशी प्रदेशका स्टार्टअप उद्यममध्ये ६६.९ प्रतिशत तराई क्षेत्रमा, २२.५ प्रतिशत पहाडी क्षेत्रमा र १०.६ प्रतिशत हिमाली क्षेत्रमा सञ्चालनमा रहेका छन्। अध्ययनले उद्यमको व्यावसायिक क्षेत्र र भौगोलिक स्थानबीच प्रत्यक्ष निर्भरता नरहेको निष्कर्ष निकालेको छ ।

अध्ययनमा समावेश १६० स्टार्टअप उद्यममा ७४.४ प्रतिशत पुरुष र २५.६ प्रतिशत महिला उद्यमी संलग्न छन् । उमेर समूहका आधारमा २१ देखि ३५ वर्षका ३९.३ प्रतिशत, ३६ देखि ५० वर्षका ४४.४ प्रतिशत र ५० देखि ७० वर्षका १६.२ प्रतिशत उद्यमी रहेका छन् ।

आर्थिक वर्ष २०८०÷८१ मा यी स्टार्टअप उद्यमहरूले कुल १ हजार ४३६ जनालाई रोजगारी दिएका छन्, जसमा ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष रहेका छन्।

त्यस्तै शैक्षिक संस्थामा उद्यमसम्बन्धी व्यावहारिक शिक्षा समावेश गर्ने, सीप विकास तालिम सञ्चालन गर्ने, अनुसन्धान तथा प्रविधिमा लगानी बढाउने र सरकार–निजी क्षेत्र सहकार्यमार्फत बजार विस्तार तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता बढाउनुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ । प्रतिवेदनले नीतिगत सुझावहरू दिएको छ।

स्टार्टअपहरूलाई प्राथमिकतामा राखेर प्रदेशस्तरीय नीति निर्माण गर्न, बिउ पुँजी, सह–लगानी, भेन्चर क्यापिटल, कर छुट र कर्जा पहुँच सरल बनाउन सिफारिस गरिएको छ। साथै, इन्क्युबेसन सेन्टर स्थापना, शैक्षिक संस्थामा उद्यम शिक्षा समावेश, सीप विकास तालिम, अनुसन्धानमा लगानी र निजी–सरकारी सहकार्यबाट बजार विस्तार गर्न जोड दिइएको छ ।