दुई करोड बढीको कम्पोष्ट प्लाण्ट तथा कृषि श्रोत केन्द्र झाडीभित्र पुरिए

752
Shares

खोटाङ ।

खोटाङमा दुई करोड बढी खर्चमा निर्माण गरिएको कम्पोष्ट मल प्लाण्ट तथा नमुना कृषि श्रोत केन्द्र लगायतका संरचना झाडीले पुरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा निर्माण गरिएको उक्त संरचना खण्डहर बनेपछि हाल तितेपाती, बनमारा लगायतका झाडीभित्र पुरिएको हो ।

आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा ठेक्का मार्फत एक करोड ९० लाख ७० हजार रूपैयाँ र कोटेसन मार्फत दश लाख भन्दा बढीमा उक्त कम्पोष्ट मल प्लाण्ट तथा कृषि श्रोत केन्द्र निर्माण गरिएको थियो । नगरक्षेत्रभित्रको फोहरबाट कम्पोष्ट मल उत्पादन गरी नगरलाई अर्गानिक बनाउने उद्देश्यले उक्त कम्पोष्ट मल प्लाण्ट तथा कृषि श्रोत केन्द्र निर्माण गरिएको थियो । तर व्यवस्थापन समस्याका कारण सञ्चालनमा आउँदा–नआउँदै खण्डहर अवस्थामा पुगेको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले २०७६ असार १ गते सिलान्यास गरी काम सम्पन्न भएको थियो । काम सम्पन्न भएपछि तत्कालिन एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते कम्पोष्ट प्लाण्ट तथा कृषि श्रोत केन्द्र लगायतका संरचनाको उद्घाटन गर्नुभएको थियो । मल उत्पादन समेत सुरु भइसकेको उक्त उद्योगप्रति वर्तमान स्थानीय सरकारले समेत चासो नदिँदा खण्डहर बनेको स्थानीय गङ्गाबहादुर विश्वकर्माको भनाइ छ ।

उक्त कम्पोष्ट मल प्लाण्ट तथा नमुना कृषि श्रोत केन्द्रका लागि विश्वकर्माले चार रोपनी २०९१ सालसम्मका लागि भाडामा र दुई रोपनी जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराउनुभएको छ । उक्त कम्पोष्ट मल प्लाण्ट तथा कृषि श्रोत केन्द्र अघिल्लो स्थानीय सरकारकै पालामा बन्द भइसकेको र सञ्चालनका लागि पटक–पटक बोलपत्र आह्वान गर्दा समेत कसैले चासो नदेखाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

उक्त स्थानमा पशु तथा कृषि ल्याव लगायत अन्य पूर्वाधारहरू समेत निर्माण गरिएको थियो । रिसोर्स एण्ड चेन्ज मेनेजमेन्ट प्रालि काठमाडौंले उक्त संरचना निर्माणको ठेक्का लिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा मुकुन्द इन्दिरा निर्माण सेवाले ४४ लाख ४३ हजार पाँच सय ४६ रूपैयाँको लागतमा कम्पाउण्ड निर्माणको काम गरेको थियो ।

सोही कम्पाउण्डमा १० लाख ६ हजार रूपैयाँमा निर्मित पोखरी र हाइटेक ग्रीन हाउस पनि अलपत्र छ । मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थका लागि भैसी खरिद, कम्पोष्ट मल प्लाण्ट उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि फूल, विभिन्न किसिमका विरुवा तथा सजावटका सामग्रीहरूमा पनि खर्च भएको छ । मल उद्योगका लागि आवश्यक मलमुत्रका लागि तीन वटा भैंसी समेत खरिद गरिएको थियो ।।