पूर्व सांसद उमेश कुमार यादव जसपा नेपालमा प्रवेश


काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सांसद उमेश कुमार यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। उनी मङ्गलबार औपचारिक रूपमा जसपा नेपालमा आबद्ध भएका हुन्। २०६४ र २०७० सालमा नेकपा (माओवादी केन्द्र)बाट सप्तरी निर्वाचन क्षेत्रबाट संविधान सभा सदस्य निर्वाचित भएका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले यादवको अनुभव र भूमिकाले मधेस केन्द्रित राजनीतिमा पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। यादव २०७० सालको दोस्रो संविधान सभामा संसद् बैठकका क्रममा कुर्सी भाँचिएको घटनापछि चर्चामा आएका थिए। उक्त घटनाले संसद्को आन्तरिक अवस्था र राजनीतिक तनावलाई उजागर गरेको भन्दै त्यसबेला व्यापक चर्चा र आलोचना दुवै भएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार यादवको जसपा प्रवेशलाई मधेस राजनीतिमा पुनः शक्ति सन्तुलन खोज्ने प्रयासका रूपमा हेरिएको छ। पछिल्लो समय विभिन्न दलमा आवद्ध नेताहरूको पार्टी परिवर्तनले आगामी निर्वाचनलाई लक्षित रणनीतिक पुनर्संरचनाको संकेत दिएको उनीहरूको भनाइ छ। जसपा नेपालले यादवको प्रवेशसँगै मधेस क्षेत्रमा आफ्नो संगठन विस्तार र राजनीतिक प्रभाव बढाउने अपेक्षा राखेको छ।