काठमाडौं ।
वीरगञ्जमा भएको घटनालाई शान्त बनाउन गृह मन्त्रालयले आवश्यक पहलकदमी थालेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पु¥याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै सबै पक्षसँग तत्काल सद्भाव र सह–अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गर्नुभएको छ ।
गृह प्रशासन र संघीय सरकारको तहबाट गरिनुपर्ने सबैखालका सुरक्षाको पूर्वतयारी र सजगता अपनाइएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो– ‘एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकोले यस घटनालाई निस्तेज गर्न सबैले आ–आफ्नो ठाउँ र तहबाट जिम्मेवारी बोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गर्दछु ।’
सोमबार गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगहरूका कार्यवाहक अध्यक्षहरू, सचिव, तथा पदाधिकारीहरूसँग गरिएको सामूहिक छलफलमा गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गर्नुभएको हो । बैठकमा गृहमन्त्री अर्यालले राज्यका संवैधानिक आयोगहरूले यस्तो अवस्थामा एउटा विवेकको संरक्षकको भूमिका निर्वाह गरिदिन आग्रह समेत गर्नुभयो ।
यस्तै, गृहमन्त्री अर्यालले हाल मधेस प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता संयमता, सजगता र सह–अस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न पनि सबैमा अनुरोध गर्नुभयो । यस्तै, मन्त्री अर्यालले यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारहरूले पनि समन्वयात्मक भूमिका खेलिदिएर अवस्थालाई सामान्यीकरण गर्न उहाँहरूको ठूलो भूमिका रहने बताउनुभयो ।
सो क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाह, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महामदीन अलि, थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू, गृह सचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यहरूको उपस्थिति थियो ।
सो क्रममा आयोगका प्रायः सबै कार्यवाहक अध्यक्षहरूले अहिले मधेस प्रदेशमा देखिएका धार्मिक तथा सांस्कृतिक सद्भाव खलबलाउने गतिविधिहरूलाई केन्द्र तथा प्रदेश सरकार र समुदायका नागरिक तथा बुद्धिजीवीहरूको समन्वयात्मक भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
यसअघि पनि, गृहमन्त्री अर्यालको अध्यक्षतामा आजै मधेस प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखहरूसँग अनलाइन बैठक सम्पन्न भएको थियो । बैठकमा मन्त्री अर्यालले हाल मधेस प्रदेशका जिल्लाहरूको प्रमुख जिल्ला अधिकारीहरू तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो ।
वीरगन्जमा कफ्र्यु
धार्मिक तथा सामाजिक विवादका कारण उत्पन्न तनाब नियन्त्रण बाहिर जान थालेपछि पर्सा प्रशासनले वीरगञ्जमा कफ्र्यु लगाएको छ । दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक मोड लिनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता कडा पारेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलवार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका मुख्य तथा संवेदनशील क्षेत्रमा कफ्र्यु लगाइएको हो । प्रशासनले कफ्र्यु आदेश, उल्लंघन गरे गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिइएको छ ।
यसअघि प्रशासनले दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरेको भए पनि स्थिति थप जटिल बनेपछि कफ्र्युकै निर्णय लिनुपरेको प्रशासनको भनाइ छ ।
वीरगञ्ज महानगरपालिकाका चार किल्लाभित्र सभा, जुलुस र भेला गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । पूर्व बाइपास सडक खण्डदेखि पश्चिम सिर्सिया पुल र उत्तर पावर हाउस चोकदेखि दक्षिण शंकराचार्य गेटसम्म कफ्र्यु लगाउने निर्णय भएको हो ।











प्रतिक्रिया