काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गत अर्को महिनामा हुने टी–ट्वान्टी विश्वकप ट्रफी नेपाल ल्याइएको छ । सो टी–ट्वान्टी विश्वकप ट्रफी राष्ट्रपति निवासमा सोमबार सार्वजनिक गरियो । राष्ट्रपति रामचन्द्र पौडेलले टी–ट्वान्टी विश्वकपको ट्रफी अनावरण गर्नुभयो ।
राष्ट्रपतिले विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभयो । उहाँले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलिएको भन्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो– ‘नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदैं गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत् नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।’
उहाँले नेपालमा विश्वकप ट्रफी ल्याउन पहल गरेकोमा आईसीसीलाई धन्यवाद पनि व्यक्त गर्नुभएको थियो । साथै उहाँले नेपालमा माघमा हुन लागेको महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा सहभागी हुने तथा पुरुष टी–ट्वान्टी विश्वकपमा सहभागी हुने नेपालका महिला र पुरुष टोलीलाई शुभकामना पनि दिनुभएको थियो ।
नेपालमा विश्वकप प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको यो पहिलो अवसर भने होइन । यसअघि नेपालमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) को विश्वकप ट्रफी टुर गरिएको थियो । क्रिकेटभन्दा पहिले नेपालमा रामवरण यादवको राष्ट्रपतिकालमा फिफाको विश्वकप फुटबल ट्रफीसमेत टुर गरिएको थियो ।
टी–ट्वान्टी विश्व कप ट्रफी तीन दिनसम्म नेपालमा रहनेछ । प्रतियोगिता भारत र श्रीलंकामा अर्को महिना फेबु्रवरी ७ देखि सुरु हुँदै छ । यसपटक नेपालले पनि सो विश्वकपमा सहभागिता जनाउँदै छ । यो फरम्याटको विश्वकपमा नेपालको तेस्रो सहभागिता हुनेछ । यसअघि गत टी–ट्वान्टी क्रिकेटअन्तर्गतको विश्वकप २०१४ र २०२४ का संस्करणमा नेपाली टोलीले सहभागिता जनाएको थियो ।
यसपटक नेपालको समूहमा इंग्ल्यान्ड, बंगलादेश, वेस्ट इन्डिज र इटाली रहेका छन् । तर, बंगलादेश र भारतबीचको राजनीतिक सम्बन्ध चिसो भएको हुँदा बंगलादेश टोलीले खेल्ने नखेल्ने टुंगो लागेको छैन ।
बंगलादेश क्रिकेट बोर्डले भारतमा गएर यस टी–ट्वान्टी विश्वकपका खेलहरू नखेल्ने बताइसकेको छ । यसअनुसार हेर्ने हो भने बंगलादेशले विश्वकप खेल्न नसक्ने बढी सम्भावना देखिएको छ ।
बंगलादेश क्रिकेट बोर्डले आईसीसीलाई भेन्यु अर्को सहआयोजक राष्ट्र श्रीलंकामा सार्न दिएको निवेदनमा आईसीसीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । जबकि, बंगलादेशका समूहअन्तर्गत चारै खेल भारतमै हुने खेलतालिका रहेको छ । नेपालको बंगलादेशविरुद्धको खेल मुम्बईको वानखेडे रंगशालामा १७ फेबु्रवरीमा हुँदै छ ।











प्रतिक्रिया