काठमाडौं ।
काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा ईभी भ्यानका टिकट काउन्टरहरूमा कार्यरत कर्मचारीहरूले लागुऔषध सेवन गरी यात्रु तथा पैदल यात्रुलाई दुःख–हैरानी दिएको भन्ने जनगुनासोपछि प्रहरीले कारबाही गरेको छ ।
मिति २०८२ साल ०९ महिना २० गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट खटिएको प्राविधिक ल्याब टेक्निसियन, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीको संयुक्त टोलीले टिकट काउन्टरमा कार्यरत कर्मचारीहरूको परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा ७ जनाले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध सेवन कसुरमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेहरूमा रौतहटका बसन्त कुमार यादव, चितवनका साजन गुरुङ, तनहुँका पारस गुरुङ र अनुप गुरुङ, झापाका बिक्कि श्रेष्ठ, काठमाडौंका अर्जुन भण्डारी तथा धादिङका अस्मिन लामिछाने रहेका छन् । प्रहरीका अनुसार सार्वजनिक यातायात क्षेत्रमा हुने अव्यवस्था नियन्त्रण गर्न यस्ता गुनासोमा निगरानी र कारबाहीलाई निरन्तरता दिइनेछ ।











प्रतिक्रिया