खोटाङमा करिब दुई हजार मतदाता बढ्यो

940
Shares

खोटाङ ।

खोटाङमा अघिल्लो निर्बाचनको तुलनामा झण्डै दुई हजार मतदाता संख्या बृद्दि भएको छ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लामा एक लाख ४७ हजार १ सय २० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६ सय ५६ र महिला ६९ हजार ४ सय ६४ जना मतदाता कायम भएका हुन् ।

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४ सय २९ जना मतदातामध्ये ८ सय १० जना मतदाताले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रविन मगरले बताउनुभयो । निर्वाचन अधिकारी मगरका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पूराना मतदाताको अद्यावधिक गर्दा एक हजार ८ सय ८१ जना नयाँ मतदाता थपिएको हो ।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि नेपाल सरकारले मुख्य निर्वाचन अधिकृत समेत खटाइसकेको छ । २०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेकपा माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ निर्वाचित हुनुभएको थियो । जिल्लामा आगामी निर्बाचनमा पनि पूरानै दलबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

माओवादी केन्द्र लगायत १६ वटा पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले प्रत्यक्षतर्फ सात जना उम्मेदवार सिफारिस गरिसकेको छ भने, अन्यले अझै टुङ्गो लगाएको छैन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले केन्द्रीय सदस्य विशाल भट्टराईको उपस्थितिमा उम्मेदवार छनोटका लागि छलफल सुरु गरेको छ भने, नेपाली काँग्रेस खोटाङको बैठक नै बसेको छैन ।

काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई अनुसाशनको कारबाहीमा पर्नुभएपछि बैठक बस्न नसकेको जनाईएको छ । जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय परिवर्तन पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले उम्मेदवार सिफारिस गरिसकेका छन् । राप्रपाले गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र कृष्णकुमारी राई, राप्रपाले मिरेश राई र जसपाले राकेश राई र प्रकाश चाम्लिङको नाम सिफारिस गरेको हो ।।