अनलाइन स्क्याममार्फत १२ करोडभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ, एक चिनियाँ नागरिकसहित ११ जना हिरासतमा


काठमाडौं ।

अनलाइन स्क्यामिङमार्फत सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गर्ने संगठित गिरोहलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक चिनियाँ नागरिकसहित ११ जना रहेका छन्। प्रहरीका अनुसार चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय स्थापना गरी ‘SMC’ नामक मोबाइल एपमार्फत ठगी धन्दा सञ्चालन गरिएको थियो। साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार एपमार्फत घरमै बसेर भिडियो हेरेबापत आम्दानी हुने, थोरै लगानीमा धेरै नाफा कमाउन सकिने जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई जालमा पार्ने गरिएको थियो।

ब्युरोले जारी गरेको विज्ञप्तिमा उक्त एपमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई सञ्जालमा जोडिसकिएको उल्लेख गरिएको छ। हालसम्म २५५ जनाले सामूहिक उजुरी दिएका छन्, जसअनुसार उनीहरूबाट १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ ठगी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम खातुन, प्रिया के.सी., मोनिका गुरुङ, गीता गुरुङ, नासिर मिया अन्सारी, सायरा खातुन र राम निवास प्रसाद कलवार रहेका छन्।

उनीहरूलाई काठमाडौंको ठमेल, टोखा र तारकेश्वरका साथै रुपन्देही र पर्साका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उक्त समूहले विश्वप्रसिद्ध फिल्म कम्पनीहरू युनिभर्सल पिक्चर्स, वार्नर ब्रदर्स र डिज्नीसँग सहकार्य रहेको झुटो दाबी गर्दै विश्वास आर्जन गर्ने गरेको खुलेको छ। उनीहरूले पिरामिड शैलीको ‘पोन्जी स्किम’ अपनाउँदै नयाँ सदस्य भित्र्याएबापत आकर्षक कमिसन, दैनिक बोनस र रिफरल आम्दानीको लोभ देखाउने गरेका थिए।

प्रहरीका अनुसार नयाँ सदस्यबाट संकलन गरिएको रकम पुराना सदस्यलाई भुक्तानी गर्ने र बाँकी रकम गिरोहका मुख्य सञ्चालकहरूले हिनामिना गर्ने मोडेलमा ठगी गरिएको थियो। प्रारम्भिक चरणमा थोरै रकम फिर्ता दिई विश्वास जित्ने र पछि ठूलो लगानी गराएपछि सम्पर्क विच्छेद गर्ने रणनीति अपनाइएको पाइएको छ। पक्राउ परेकाहरूमाथि संगठित अपराध निवारण ऐन तथा मुलुकी अपराध संहिता बमोजिम अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

घटनामा अन्य व्यक्तिहरू पनि संलग्न हुनसक्ने आशंकामा अनुसन्धान विस्तार गरिएको छ। साइबर ब्युरोले सर्वसाधारणलाई घरमै बसेर सजिलै पैसा कमाउने, थोरै लगानीमा धेरै नाफा हुने जस्ता लोभलाग्दा अनलाइन विज्ञापन र एप्लिकेसनप्रति सचेत रहन आग्रह गरेको छ। साथै, आफ्नो बैंक खाता, मोबाइल बैंकिङ वा QR कोड अपरिचित व्यक्तिलाई नदिन र ठगीमा परेमा तुरुन्तै डिजिटल प्रमाणसहित प्रहरीमा उजुरी दिन अनुरोध गरिएको छ।