संसद् विघटनमा हाम्रो समर्थन थिएन : संयोजक दाहाल


काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी विद्रोहपछि भएको प्रतिनिधिसभा विघटनमा आफूहरूको समर्थन नरहेको स्पष्ट पारेका छन् । भारतको नयाँ दिल्लीमा आयोजित नेपाली समाज भारतको एकता सन्देश कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकार गठनको विषयमा मात्रै सहजीकरण गरिएको बताए ।

प्रचण्डका अनुसार भदौ २३ र २४ गते देश राज्यविहीनताको अवस्थामा पुगेको थियो । त्यसपछि भदौ २६ गते आफू र माधवकुमार नेपालले रातभर छलफल गरेर परिस्थिति सामान्य बनाउन भूमिका खेलेको उनले बताए । राष्ट्रपति र प्रधान सेनापतिको आग्रहमा छलफल गरी कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अन्तरिम सरकार बनेको तर संसद् विघटनमा कुनै सहमति नभएको उनको भनाइ छ ।

उनले तत्कालीन ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश राजनीतिक दुर्घटनातर्फ गएको आरोप लगाए । संविधान मिचेर आफूलाई सरकारबाट हटाइएको दाबी गर्दै त्यसको परिणाम राम्रो नहुने चेतावनी आफूले संसद्मै दिएको तर बेवास्ता गरिएको प्रचण्डले बताए ।