क्यान्सर अनुसन्धानमा नेपाली युवा डा. विशाल ज्ञवाली विश्व वरीयतामा पहिलो


काठमाडौं ।

क्यान्सर अनुसन्धान र अध्यापनको क्षेत्रमा क्रियाशील नेपाली युवा वैज्ञानिक डा. विशाल ज्ञवाली विश्व वरीयतामा पहिलो स्थानमा पर्न सफल भएका छन्। विश्वभरका अनुसन्धानकर्ता, विज्ञ र शैक्षिक संस्थाको मूल्यांकन गर्दै आएको प्रतिष्ठित प्लेटफर्म ScholarGPS ले ‘ग्लोबल अन्कोलोजी’ क्षेत्रमा डा. ज्ञवालीलाई विश्वकै पहिलो वरीयतामा राखेको हो। ScholarGPS ले अनुसन्धानकर्ताको वैज्ञानिक योगदान, प्रकाशित शोधपत्र, उद्धरण (citations), प्रभाव र निरन्तरताजस्ता मापदण्डका आधारमा वरीयता निर्धारण गर्छ।

यो प्लेटफर्ममा विश्वभरका हजारौँ शैक्षिक तथा अनुसन्धान संस्था र तीन करोडभन्दा बढी अनुसन्धानकर्ताको प्रोफाइल सूचीकृत छन्। डा. ज्ञवाली पहिलो वरीयतामा परेका ‘ग्लोबल अन्कोलोजी’ क्षेत्रको मुख्य उद्देश्य उच्च आय भएका देश (HICs) र न्यून तथा मध्यम आय भएका देश (LMICs) बीच क्यान्सर उपचारमा देखिएको गहिरो असमानता घटाउनु हो। रोकथाम, समयमै निदान, उपचार र अनुसन्धानमा समान पहुँच विस्तार गर्नु यसको मूल लक्ष्य हो।

सीमित स्रोत भएका मुलुकहरूमा क्यान्सर उपचार अत्यन्तै महँगो र मृत्युदर उच्च रहेको सन्दर्भमा डा. ज्ञवालीको अनुसन्धान टोलीले सहकार्य, तालिम, क्षमता अभिवृद्धि र नवप्रवर्तनमा केन्द्रित काम गर्दै आएको छ। उनको अनुसन्धान र नीतिगत योगदानले नेपाल मात्र होइन, विश्वका करोडौँ आर्थिक रूपमा कमजोर बिरामीहरू लाभान्वित हुँदै आएका छन्। समग्र अन्कोलोजी क्षेत्रमै पनि डा. ज्ञवालीको वरीयता उच्च रहेको ScholarGPS को तथ्यांकले देखाउँछ। हाल क्यानडाको प्रतिष्ठित क्वीन्स युनिभर्सिटीमा अध्यापनरत डा. ज्ञवाली विश्व स्वास्थ्य संगठन (WHO), युरोप र नेपालका क्यान्सरसम्बन्धी विभिन्न संस्थासँग निरन्तर सहकार्य गर्दै आएका छन्।

क्यान्सर उपचारको क्षेत्रमा विश्वकै सबैभन्दा प्रतिष्ठित सम्मान मानिने American Society of Clinical Oncology (ASCO) को फेलो (FASCO) उपाधि पाउने उनी सम्भवतः पहिलो नेपाली हुन्। उनको पहलमा क्वीन्स युनिभर्सिटीले पनि पहिलो पटक यो सम्मान प्राप्त गरेको हो। डा. ज्ञवाली नेपालको शिक्षा प्रणालीको सफल उत्पादन पनि हुन्। रुपन्देहीको बुटवलबाट एसएलसी टपर रहेका उनले त्रिभुवन विश्वविद्यालयबाटै चिकित्सा शास्त्र अध्ययन गरेका हुन्।

काठमाडौँ बाहिरको विद्यालय र स्वदेशी विश्वविद्यालयबाट पढेर विश्वस्तरमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले स्थापित गरेका छन्। विदेशमा रहेर काम गर्दा देशलाई के फाइदा भन्ने प्रश्नमा पनि उनको योगदान स्पष्ट छ। नेपालमै सीमित स्रोतमा केही हजार बिरामीको उपचार गर्न सकिने ठाउँमा, साधन–स्रोत सम्पन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयमा रहेर उनले विश्वका करोडौँ गरिब बिरामीको जीवन सुधारमा योगदान पुर्‍याइरहेका छन्, जसको प्रत्यक्ष लाभ नेपालले पनि पाउँदै आएको छ। डा. विशाल ज्ञवालीको उपलब्धिलाई नेपाली वैज्ञानिक क्षमताको विश्वव्यापी पहिचानका रूपमा लिइएको छ। धुलो–धुवाँ र प्रदूषणमा मात्र होइन, ज्ञान, अनुसन्धान र मानवकल्याणमा पनि नेपाली युवा विश्वमै पहिलो हुन सक्छन् भन्ने सन्देश उनकाे सफलताले दिएको छ।